निषेधाज्ञाको डेढ महिनामा बैंकहरुमा ५९ अर्ब निक्षेप संकलन, ४९ अर्ब कर्जा प्रवाह

निषेधाज्ञाको डेढ महिनामा बैंकहरुमा ५९ अर्ब निक्षेप संकलन, ४९ अर्ब कर्जा प्रवाह

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको डेढ महिना भएको छ। गत वैशाख १६ गतेदेखि उपत्यकालगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी भएको थियो। निषेधाज्ञामा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द हुँदा बैंकहरुका शाखाहरु आलोपालो गरि खुल्ला रहेका छन्।

यसरी निषेधाज्ञा भएको डेढ महिनाको बीचमा बैंकहरुले ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। वैशाख १७ गतेदेखि जेठ २८ गतेसम्म वाणिज्य बैंकहरुले ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

वैशाख १७ गतेसम्म बैंकहरुले ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन जेठ २८ गतेसम्म आइपुग्दा ४९ अर्ब रुपैयाँ थप भएर ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जनाएको छ।

बैंकहरुले जेठ महिनामा मात्र २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वैशाख मसान्तमा बैंकहरुले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरका थिए।

निषेधाज्ञाको डेढ महिनामा बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थप भएको छ। गत वैशाख १७ गतेसम्म बैंकहरुमा ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। जुन जेठ २८ गतेसम्म आइपुग्दा ३९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। जेठको १ महिनामा भने बैंकहरुमा २६ अर्ब रुपैयाँ मात्र निक्षेप थप भएको छ। वैशाख मसान्तमा बैंकहरुमा ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । 

बैंकर्स संघका अनुसार जेठ महिनाको पहिलो साता निक्षेप संकलन ६ अर्ब, दोस्रो सातामा ५ अर्बले ऋणात्मक, तेस्रो साता १२ अर्ब र अन्तिम साता १३ अर्ब निक्षेप संकलन भएको छ। त्यस्तै बैंकहरुले गरेको ऋण लगानीतर्फ पहिलो साता ६ अर्ब, दोस्रो साता ९ अर्ब, तेस्रो साता र अन्तिम साता ८, ८ अर्ब कर्जा प्रवाह भएको छ ।

बैंकहरुले चालु आर्थिक वर्षमा मात्र ७ खर्ब ३९ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन्। यो अवधिमा ४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। 

निषेधाज्ञामा अन्य क्षेत्रको व्यापार बन्द भएपनि आयात नरोकिएको हुँदा बैंकहरुबाट आयात कर्जामा कमि नआएको तथा वैशाख महिना र त्यसअघि नै कर्जाको लागि आएका निवेदन स्वीकृत भएर कर्जा गएकाले निक्षेप भन्दा कर्जा बढी देखिएको बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। 

कोरोना महामारीका कारण निषेधाज्ञाको अवधिमा  आम्दानीभन्दा खर्च बढी हुँदा बैंकहरुमा निक्षेप संकलन उल्लेख्य रुपमा बढ्न नसकेको उनको भनाइ छ।

Skip This
Skip This
Logo