वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, प्राथमिकताको क्षेत्रमा कोरोना नियन्त्रण

वाग्मती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, प्राथमिकताको क्षेत्रमा कोरोना नियन्त्रण

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेश सरकारले कोभिड महामारी नियन्त्रण गर्ने गरि प्रमुख प्राथमिकता दिएर बजेट ल्याएको छ।

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो। वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पेश गरेका हुन्। 

वाग्मती प्रदेश सरकारले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार अर्थात् ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार अर्थात् ५१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ अर्थात् ४ प्रतिशत बराबर बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना ढुंगेलले बताएका छन्। 

बजेट स्रोत व्यवस्थापनमा बागमती प्रदेशले कर राजश्वतर्फ २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख रुपैयाँ बराबर राजस्व संकलनको अनुमान गरेको छ। 

त्यस्तै, संघीय सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत वागमती प्रदेशले पाउने १९ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ती १ अर्ब ५ करोड ९ लाख, र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड रुपैयाँ बराबर स्रोत व्यहोर्ने अनुमान गरिएको छ।

त्यस्तै, वाग्मती प्रदेश सरकारले विगतमा सांसदहरूलाई दिँदै आएको प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ। बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले उक्त कार्यक्रमको सट्टा ‘ प्रदेश स्वास्थ्य पूर्वाधार प्रवर्द्धन तथा कोभिड पुनःस्थापना साझेदारी कार्यक्रम’ को घोषणा गर्दै कार्यक्रमका लागि सांसदहरूलाई २ अर्ब ४२ करोड रकम विनियोजन गरेको छ।

उद्योग तथा व्यवसायलाई निषेधाज्ञा हटेको २ महिनासम्म कर र नवीकरण गर्दा जरिवाना नलिने पनि ढुंगेलले बताए। निषेधाज्ञा खुलेको ६० दिनभित्र कर तिर्दा जरिवाना नलाग्ने प्रदेश सरकारको घोषणा छ। 

प्रदेश अन्तर्गतका सबै अस्पतालमा आगामी आर्थिक वर्षको सुरुमा नै पीसीआर मेशिन र अक्सिजन प्लान्ट जडान गरी सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ।

त्यस्तै, कोभिडविरुद्धको खोप केन्द्र सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई उपलब्ध गराउन २ अर्ब रुपैँयाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्यकर्मी र सुक्षाकर्मीको लागि विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ।  

कोभिडबाट प्रभावित नागरिकको लागि विशेष कार्यक्रम र ऋण प्रवाह गरिने र त्यसको लागि २ अर्ब बजेट विनियोजन गरिएको मन्त्री ढुंगेलले जानकारी दिए। 

कोभिड १९ राहत र सहुलियतको सरकारले छुट्टै कार्यक्रम ल्याएको छ। कोभिडबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक ३ हजार र अन्य जुनसुकै कारणले बाबुआमा गुमाएका बालबालिकालाई मासिक २ हजार रकम सरकारले उपलब्ध गराउने भएको छ। 

स्वर्गीय पशुपति चौलागाईँको सम्मानस्वरुप दोलखाको चरिकोट अस्पताललाई पशुपति चौलागाईँ स्मृति अस्पताल नामाकरण गरी त्यसलाई सुविधासम्पन्न गराउन विशेष बजेटको व्यवस्था गरिएको छ। 

रामेछाप लगायत विभिन्न जिल्लामा आयुर्वेदीक अस्पताल स्थापनाको लागि बजेट विनियोजन गरेको मन्त्री ढुङगेलले जानकारी गराए।

प्रदेशका दुध उत्पादक किसानलाई सरकारले अनुदान दिन बजेट विनियोजन गरेको छ। जिविकोमुखी कृषि र पशुपालन गर्ने किसानलाई समेत सहयोग गर्न सरकारले बजेटको व्यवस्था गरेको छ।

Skip This
Skip This
Logo