हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
सातै प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । आज सार्वजनिक बजेट अनुसार वाग्मती प्रदेश सरकारले सबैभन्दा बढी ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ भने सबैभन्दा कम, गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ। जसमा प्रायः सबै प्रदेशले कोभिड नियन्त्रण तथा स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता राखेका छन्।
नेपालमा मनसुन थप सक्रिय भएसँगै मंगलबार दिउँसो र राति नेपालका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने, कतिपय स्थानमा भारी वर्ष भइरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान शाखाले जनाएको छ । यसले विभिन्न स्थानमा बाढी, पहिरो निम्त्याउनका साथै जनजीवन पनि प्रभावित बनाएको छ। मनाङ जिल्लाको सदरमुकामका ६ घर बगाएको छ भने, विभिन्न नदीको बहाव बढ्दै गएपछि उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुसूचित गरको छ।
गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । यस्तै मन्त्री अधिकारीले सीमाको सम्बन्धमा नेपालीहरू संवेदनशील भएको भन्दै त्यस विषयमा सरोकारवालालाई सो कुरा बुझिदिन आग्रह पनि गरेका छन्।
राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि सुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो । प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाडौँ आइसकेको र बाँकी आउने क्रममा रहेको नेपाल भलिबल सङ्घले जनाएको छ। संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरी प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो । यो टोलीले फिलिपिन्समा आयोजना हुने एसियन च्याम्पियनसिपका तयारी सुरु गरेको हाे ।
युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछ। युरोकपमा आज ग्रप अफ डेथ मानिएको समूह ‘एफ’ का दुई खेलहरु संचालन हुँदैछन्। पहिलो खेलमा पोर्चुगल र हंगेरी तथा दोस्रो खेलमा फ्रान्स र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगल र हंगेरीबीचको खेल राति ९ः४५ बजे सुरु हुँदैछ भने, फ्रान्स र जर्मनीबीचको खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ।





























प्रतिक्रिया