उखु किसानहरुले बुझाए संसदीय समितिमा ज्ञापनपत्र

उखु किसानहरुले बुझाए संसदीय समितिमा ज्ञापनपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनु पर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनु पर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका हुन् । उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले समिति सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

श्रीराम सुगर मिल्सले २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भएको जानकारी गराएको थियो । त्यससँगै आफूहरुले पाउनु पर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको बताएपछि आफूहरु मारमा परेको गुनासो सचिव यादवले गरे । उद्योगबाट पाउनु पर्ने ४१ करोड रुपैयाँ दशैं अघि नै पाउने व्यवस्था मिलाईदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन् ।

त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने माग गरेका छन् । आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरु आशावादी रहेको पनि किसानहरुको भनाइ छ । चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको गुनासो किसानहरुको छ ।

किसानहरुले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

उद्योग बन्द हुँदा त्यस क्षेत्रमा प्रत्यक्ष र अप्रत्क्ष रुपमा रोजगारी पाएका हजारौं व्यक्ति समस्यामा परेकाले हजारौं घरपरिवारको आयस्रोत नै बन्द भएकाले उद्योगलाई फेरी सूचारु गर्ने वातावरण मिलाईदिन समेत माग गरेका छन् । रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाई छ ।

Logo