पाँच दिनमा २०० अंकले घटेको नेप्से पुनः उकालो यात्रामा, लगानीकर्तामा राहत

पाँच दिनमा २०० अंकले घटेको नेप्से पुनः उकालो यात्रामा, लगानीकर्तामा राहत


गत साता मंगलबार शेयर बजार नियमक निकाय धितोपत्र बोर्डले ५१ कम्पनीमा लगानी गर्न जोखिम भनेर विज्ञप्ति जारी गरेको थियो। यी कम्पनीले बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर शेयर मूल्य बढाएको र लगानी गर्ने जोखिम रहेको बताएपछि शेयर बजार निरन्तर ओरालो लागेको थियो।

बोर्डले करिब एक वर्षको अवधिमा नेप्सेमा  सूचीकृत संगठित संस्थाहरुको शेयरको मूल्यवृद्धि ३०० प्रतिशत भन्दा बढी वृद्धि भएको, मूल्य आम्दानी अनुपात १०० भन्दा बढी भएको, प्रति शेयर आम्दानी ऋणात्मक भएको, प्रतिशेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कमका आधारमा छनोट गरेरे नाम सार्वजनिक गरेको जनाएको थियो।

त्यस दिनदेखि शेयर बजार लगातार पाँच दिनसम्म ओरालो लाग्दा अहिलेसम्मकै उच्चतम विन्दुबाट झण्डै २०० अंकले तल झर्यो । गत साता नेप्सेले अलटाइम हाई क्लोजिङ विन्दु पनि हासिल गर्न सफल भएको थियो । गत सोमबार नेप्से सूचक हालसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा बन्द भएको थियो । साथै, शेयर कारोबार रकमले पनि नयाँ रेकर्ड राख्न सफल भयो । त्यही साताको आइतबार १९ अर्ब ५५ करोड बढी रुपैयाँको शेयर कारोबार भएको थियो । तर साताको अन्तिम दिन बिहीबार शेयर कारोबारमा ९ अर्ब १५ करोड रुपैंयाँ घटेको थियो।

सोमबार अहिलेसम्मकै उच्च ३ हजार २५.८३ विन्दुमा पुगेको बजार गत बिहीवार कारोबार बन्द हुदा १.२९ अंकले घटेर २ हजार ९६८.४३ अंकमा झरेको थियो। तीन दिनमा ५७.४ अंकले घटेको थियोे भने बुधबार मात्रै एकै दिन सर्वसाधारण लगानीकर्ताले एक खर्ब ८२ अर्ब रुपैयाँ गुमाएका थिए।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ६३.२८ अंकले घटेर २ हजार ९०५.४६ अंकमा झरेको थियोे । पाँच कारोबार दिनमा बजार सूचक नेप्से २ हजार ८३४ मा पुगेको थियो। आइतबार नेप्से परिसूचक ७१.०६ अंकले घटेर २ हजार ८३४.४१ विन्दुमा झरेको हो।

यसबीचमा दुई दिन सामान्य मात्रै घटेको बजार बाँकी ३ दिन भने ५२ देखि ७२ अंकसम्मको फराकिलो अन्तरले घटेको थियो । निराश लगानीकर्ताले मंगलबार भने राहत महसुस गरे। मंगलबार ७९.४४ अंकले नेप्से बढेको छ।

धितोपत्र बोर्डले गत मंगलबार ५१ वटा कम्पनीलाई जोखिमपूर्ण सूचीमा राखेर विज्ञप्ति सार्वजनिक गरेपछि बजार लगातार पुँजीबजार ओरालो यात्रामा लाग्ने लगानीकर्ताहरुले बताउँदै आएका थिए। नभन्दै उनीहरुको भनाइ मिल्यो। पछिल्लो पाँच दिन यता नेप्से सूचक घट्दै गएको थियो। बजार ओरालो लाग्दा लगानीकर्ताको सम्पतिसमेत दैनिकरुपमा घट्दै गएको छ।

गत पाँच दिनमा नै कुल बजार पूँजीकरण साढे २ खर्ब रुपैंयाँ भन्दा धेरैले घटेको देखिन्छ। पछिल्लो पाँच कारोबार दिनमा लगानीकर्ताले २ खर्ब ७८ अर्ब रुपैयाँ शेयर बजारबाट गुमाएका छन्। सोमबार कुल बजार पूँजीकरण घटेर ३९ खर्बमा झरेको छ। जेठ महिनाको अन्तिम दिन अर्थात जेठ ३१ गते हालसम्मकै उच्च विन्दु बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब रुपैंयाँमा पुगेको थियो। 

यसरी जेठ ३१ गतेसँगको तुलना गर्दा २ खर्ब ७८ अर्ब ३२ करोड ३४ लाख रुपैंयाँले घटेर सोमबारसम्ममा ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाख रुपैंयाँमा झरेको हो। बजार ओरालो लागे पनि लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति अम्बिका पौडेलले शेयर बजार बढ्ने आधारहरु कायम नै रहेकाले लगानीकर्तालाई नआत्तिन र धैर्य गर्न  आग्रह गरेका छन्। बजार बुलिस ट्रेन्डबाट फर्केको नभई स्वाभाविक करेक्सन भएको र बजार फेरि बढेर नयाँ उचाईमा जाने उनको धारणा छ।

बजार क्लाइमेक्समा पुगेर फर्केको नभई करेक्सन मात्र भएको हो। उनले भने, ‘बुलिस ट्रेन्ड सुरु भएको बल्ल २ वर्ष भएकोले बुलिस ट्रेन्ड अझै बाँकि रहेको र बजार बढ्न बाँकि नै रहेको छ।’

बजारको नेचर नै घटबढ हुने भएकाले कहिलेकाहीँ बजार निर्दयी हुने र त्यसलाई सहनु पर्छ । आफूले बजारमा २६ वर्षको समय व्यतित गरेको र यस अन्तरालमा यस्ता थुप्रै झड्का आएको र फेरि नयाँ उचाईमा पुग्ने गरेको देखेकोले धैर्य गर्नु पर्ने उनको भनाइ छ। 

त्यस्तै, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र वोर्डले सार्वजनिक गरेको विज्ञप्तिले पनि केही बजारमा प्रभाव परेको बताए। उनले धितोपत्र बोर्डको विज्ञप्तिपछि शेयर लगानीकर्ता प्यानिक सेल भएको र लगानी गर्न बसेका लगानीकर्ताले पनि प्यानिक भएर लगानी नगर्दा घाटा लाग्ने डरले साना लगानीकर्ताले पनि शेयर बेच्दा र लगानीकर्ताले नाफा बुक गर्नाले शेयर बजार घटेको बताए।

उनले भने, ‘धितोपत्र बोर्डले ५१ कम्पनीलाई रेड जोनमा राखेकाले यसअघि लगानी गरिरहेका र लगानी गर्न लागेका लगानीकर्ताले लगानी गरेनन्। साना लगानीकर्ता पनि डराएर घाटा खाएर भए पनि शेयर बेचे भने चलाख तथा शेयरका खेलाडीले नाफा बुक गरेकाले बजार घटेको हो।’

अहिले नेपाल धितोपत्र वोर्डले सार्वजनिक गरेको विज्ञप्तिले  बजार घटिरहेको हो। बजारमा कम्पनीको शेयर माग बढेर घटेको होइन। यदि माग बढेर घटेको भए स्थायित्व हुने थियोे । अहिले बजारमा ३८ लाख डिम्याड र ७ लाख अनलाइनमा रहेका छन्। अहिले नाफा र बोनस आएको छैन। अब एक दुई महिनामा सबैको ब्यालेन्स सिट आउने र सबै कम्पनीको कमाई राम्रो रहेकाले केही समयको लागि बजार घट्यो भनेर डराएर आतंकित हुन नहुने उनको भनाइ छ।

अहिले राम्रो कम्पनीको पनि शेयरमूल्य घटेकाले राम्रो राम्रो कम्पनी हेरेर शेयर किन्ने समय रहेको र कम्पनी हेरेर मात्रै किन्नुपर्ने रौनियार बताउँछन् । आफूले खरिद गरेको कम्पनीको आधारभुत पक्ष राम्रो छ, कम्पनीमा ग्रोथको सम्भावना बढी छ, कम्पनीको अवस्था बुझेर लगानी गरेको छ भने ती कम्पनीको मूल्य अवश्य बढ्ने हुँदा विचलित नहुन उनी आग्रह गर्छन्। 

यस्तो अवस्थामा योजना बनाएर, अध्ययन गरेर, राम्रो सम्भावना बोकेका कम्पनीमा लगानी बढाउन सके राम्रो हुने उनी बताउँछन् । यो बजारबाट नै निस्कने बेला नभई राम्रा कम्पनी छानेर खरिद गर्ने अवसर भएको उनको भनाइ छ।

त्यस्तै, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले धितोपत्र बोर्डले पछिल्लो पटक चालेको कदमले आम लगानीकर्ताले अर्बौं रुपैंयाँ गुमाएको बताएकी छिन्। उनले धितोपत्र बोर्ड रमिते मात्रै भएर बस्ने हो की आम लगानीकर्ताको चहर्याईरहेको घाउमा मलमपट्टी गर्नेतिर लाग्नु पर्ने हो भन्दै प्रश्न पनि गरेकी छिन् ।  

यदि बोर्ड रमिते मात्रै बनेर बस्ने हो भने शेयर बजार गिरावट ल्याउने प्रमुख दोषीको संगिन आरोप खेप्नुको साथै चर्को मूल्य चुकाउनु पर्ने पनि उनले बताएकी छिन्।

Logo