निषेधाज्ञा अवधिका लागि दिइएको सहुलियतको खाद्यान्न बिक्री वितरण बन्द

निषेधाज्ञा अवधिका लागि दिइएको सहुलियतको खाद्यान्न बिक्री वितरण बन्द

केन्द्रबिन्दु
0
Shares

सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन्। मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन्।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले जनाएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट मङ्गलबारदेखि रोकिएको जानकारी दिइन्।

उनका अनुसार कम्पनीले करीब डेढ महिनाको अवधिमा रु एक करोड ३८ लाखभन्दा बढीको छुट दिइएको छ। करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छुट दिइएको हो । छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले समेत बुधबारदेखि छुट रोकिएको जनाएको छ। दुई कम्पनीले छुट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत जेठ २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र खाद्यान्नमा छुट दिएका थिए।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरीद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए।

साल्ट ट्रेनिङ कर्पोरेशनले आफ्नो उत्पादनबाट पाँचजनाको परिवारलाई एक महिनाका लागि पुग्ने खाद्य पदार्थमा सरकारले तोकेको २० प्रतिशत छुट दिएको थियो। कम्पनीले दुई किलो पीठो, चिनी, नून, एक लिटर तेल र एक सिलिण्डर ग्यासमा छुट दिएको हो। 

छुटपछि पीठो ४४, चिनी ६३, नुन १६, तेल प्रतिलिटर १८८ र ग्यास प्रतिसिलिण्डर एक हजार १२० मा बिक्री गरेको थियो । यस्तै खाद्य  व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई किलो कर्णालीको सिमी र ३० किलो चामल (कम्पनीसँग रहेको बासमती र मार्सीबाहेकको चामल) मा २० प्रतिशत छुट दिएको थियो।

Logo