काठमाडौं।
एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले पीसीआर परीक्षण नै नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ।
शनिबार कोरियाबाट चार्टड फ्लाइट आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभए पनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो ।
एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो। ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आए पनि मान्छे नआएको बताए । ‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गो फ्लाइट हो,’ उनले भने।
तर कोनेले दिएको जानकारी भने झुटो देखिएको छ। विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेका कारण नछोडिएको पुष्टि गरेको छ।
एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधै छोड्नु पर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो।
सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नु पर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने ।





























प्रतिक्रिया