धान दिवसमा कृषिमन्त्री नेम्वाङः कृषि लक्षित बजेटले किसानको आर्थिक उत्थान हुने विश्वास

धान दिवसमा कृषिमन्त्री नेम्वाङः कृषि लक्षित बजेटले किसानको आर्थिक उत्थान हुने विश्वास

केन्द्रबिन्दु
0
Shares

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस, देशभर मनाइँदैछ। कोरोना संक्रमणको जोखिमबीच देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरिएका छन्। 

आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले बताएको छ। १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ। 

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७औं स्थानमा पर्छ । यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन्। 

आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र समृद्धि हाशिल गर्न सहयोग गर्ने विश्वास लिएको कृषिमन्त्री नेम्वाङले बताए।

गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन। नेपाललाई कृषिप्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालयका अधिकारीहरूका अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ। नेपालमा उत्पादन हुने बाली मध्ये धान सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न रुपमा रहेको छ। 

धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ। यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएको छ। साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ।

आजकृषि विभागले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रम खुमलटारस्थित कृषि अनुसन्धान परिषद् खेतमा गरेको छ। यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा धान दिवसको कार्यक्रम हुने विभागले जानकारी दिएको छ।

Skip This
Skip This
Logo