फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न पाउनु पर्ने माग

फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न पाउनु पर्ने माग

केन्द्रबिन्दु
0
Shares

फास्टफुड एसोसियसन नेपालले फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न पाउनु पर्ने माग गरेको छ। 

बिहीबार एसोसियसनले आफूहरु सबै खाले स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै काठमाडौँ, ललितपुर र भक्तपुर तीनै प्रमुख जिल्ला अधिकारीहरु समक्ष फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा सञ्चालन गर्न माग गरेको हो।

फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म खोल्न दिन, टेवल सर्भिसको वातावरण बनाउन उपत्यकाका सीडीओहरुलाई ध्यानाकर्षण गराइएको एसोसियसनका केन्द्रीय सदस्य राकेश श्रेष्ठले बताए।

कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा जारी भएको दुई महिना पुरा भएको छ । तीन महिनाको निषेधाज्ञाका कारण फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस माथि उठ्न नसक्ने गरी शिथिल बनेको छ । उनले भने,‘कि पुर्ण लकडाउन गर्नुपर्यो, कि कुनै क्षेत्र खुलाउने, कुनै नखुलाउने विभेदपूर्ण निर्णय हामीलाई स्वीकार्य छैन।’

यिनै विषयमा प्रमुख जिल्ला अधिकारीहरुलाई ध्यानाकर्षण गराएको उनले बताए । श्रेष्ठले त्यति मात्रै नभएर श्रमिक, मजदुरको समस्या, घरभाडाको समस्या र बैंक तथा सहकारीबाट महँगो ब्याजमा ऋण लिएर गरिएको व्यवसायमा लगानीको जोखिमबारे पनि जानकारी गराएको बताए। 

यदि राज्यबाट सहजिकरण नभए व्यवसाय बन्द गरेर साँचो बुझाउन बाध्य हुने जानकारी गराएको उनको भनाइ छ । उनका अनुसार प्रशासनले चाँडै फास्टफुड, रेस्टुरेन्ट र पार्टी प्यालेस पूर्णरुपमा सञ्चालनको व्यवस्था गर्ने आश्वासन दिएको छ।

Logo