काठमाडौं ।
६ महिना अगाडि कोरोना भाइरसको प्रभावका कारण लकडाउन भएपछि होटल तथा रेष्टुरेन्ट बन्द हुँदा काठमाडौं उपत्यकामा तरकारीको मूल्यमा गिरावट भएको थियो । तर यो गिरावट धेरै समय टिक्न भने सकेन । लकडाउन भएको दुई महिना पश्चात निरन्तर रुपमा तरकारीको मूल्य बढ्न थालेको छ । यसरी निरन्तर मूल्य बढ्दै गएकाले तरकारीको मूल्य यो वर्ष उच्च बिन्दुमा पुगेकाे छ ।
विगत दुई महिनादेखि तरकारी बजारमा अधिकांश तरकारीको मूल्य प्रतिकिलो सय रुपैयाँमाथि पुगेको छ । यसरी तरकारीको मूल्यबृद्धि भएपछि कोरोना महामारीको चपेटामा परेर रोजगारी समेत गुमाएर बसेका आम सर्वसाधारणहरु महंगीको मारमा परेका छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको मूल्य एक्कासी आकाशिदा पनि सरकारले भने मूल्य नियन्त्रण गर्न सकेको छैन ।
लकडाउनको अवधिमा बजार नपाएर उत्पादन गरेको तरकारी किसानले नष्ट गर्नु परेको थियो । तर पछिल्लो समय लकडाउन खुकुलो तथा अन्त्य भएसँगै तरकारीको मूल्य उच्च हुँदै गएको छ । अहिले अधिकांश तरकारीको मूल्य सय रुपैयाँ भन्दामाथि पूगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी उपत्यका भित्रिने गरेको छ । तर पछिल्लो समय आयात पनि घट्दै गएको समितिले जनाएको छ । कतिपय तरकारी उत्पादनको सिजन भएतापनि सिजनको अवधिमा पनि मूल्य बढीरहेको छ । यी हुन सय रुपैंयाँभन्दा बढी मूल्य भएका तरकारीहरु :
१.रातो आलु
पछिल्लो तीन महिनादेखि लगातार रुपमा मूल्य बढी रहेको तरकारी मध्येको एक हो आलु । सबै प्रकारका आलुको मूल्य कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन पश्चात मूल्य बढी रहेको छ । यसरी आलुको मूल्य बढेर एक महिना अगाडि २ सय ५० रुपैयाँ प्रतिधार्नीसम्म पूगेको थियो । अहिले पनि रातो आलुको मूल्य कालीमाटी तरकारी बजारको मूल्य अनुसार केजीको १ सय १० रुपैंयाँ रहेको छ भने खुद्रा बजार धार्नीको २ सय २० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । आलु नेपालीहरुको भान्सामा अनिवार्यरुपमा प्रयोग हुने गरेको छ । आलु जुनसुकै तरकारीमा पनि मिल्ने भएकाले प्रायः जसो सबैले प्रयोग गर्ने हुँदा यसको खपत पनि बढी नै हुने गरेको छ । नेपालमा मासिकरुपमा समग्र तरकारीको ५० प्रतिशत भन्दा बढी आलु मात्रै खपत हुने गरेको छ भने वार्षिकरुपमा १० करोड केजीभन्दा बढी आयात हुने गरेको समितिले जनाएको छ ।
२.सुकेको प्याज
गत भदौ २९ गतेदेखि भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृतिम अभाव गरि कालोबजारी बढेको थियो । प्याज निर्यात नहुने भएपछि व्यवसायीहरुले आफूखुशी मूल्यबृद्धि गरेर किनबेच समेत गरेका थिए । गतवर्षको पुस महिनामा पनि भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा प्याजको मूल्य २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यो वर्ष पनि प्रतिबन्ध लगाएपछि दुई दिनमा नै ९० रुपैयाँसम्म मूल्यबृद्धि भएर १ सय ३० रुपैयाँ पूगेको थियो ।
प्याजको मूल्य एक्कासी बढ्न थालेकाले यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न थालेको छ । यतिबेला आम उपभोक्ता विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेका छन् । यसरी कोरोना महामारीको चपेटामा परेका आम उपभोक्ता प्याज तथा तरकारीको मूल्य दैनिक बृद्धी हुँदै गएकाले अझ बढी मारमा परेका हुन् । नेपाल प्याजका लागि भारतसँग नै निर्भर रहेकाले यसको आयात रोकिंदा बजारमा स्वाभाविकरुपमा नै प्याजको अभाव हुने गरेको छ । दैनिक जसो कालीमाटी बजारमा ३५ टन भन्दा बढी प्याज निर्यात हुने गरेको छ । नेपालमा भारतबाट अघिल्लो दुई महिनामा ३४ सय टन प्याज आयात भएको थियो ।
अहिले बजारमा सुकेको प्याज १ सय १५ रुपैयाँ प्रतिकेजी पुगेको छ । गतवर्ष नेपालमा २ करोड ७५ लाख केजीभन्दा बढी प्याज आयात भएको कालिमाटी तरकारी विकास समितीले जनाएको छ । त्यस्तै बजारमा हरियो प्याजको मूल्य पनि सुकेको प्याजको भन्दा बढी रहेको छ । हरियो प्याजको मूल्य कालीमाटी तरकारी बजारको मूल्यसूचि अनुसार प्रतिकेजी १ सय ४० रुपैयाँ रहेको छ ।
३.काउली
तरकारीमा सधैं मूल्य बढी रहने मध्येको एक हो काउली । अन्य सामान्य अवस्थामा पनि काउलीको मूल्य एक सय भन्दा बढी नै रहेको हुन्छ । अझ यो कोरोना महामारी पछि काउलीेको मूल्य उच्च रुपमा बढीरहेको छ । काउली सिजनको समयमा पनि महंगो नै हुने गरेको छ । अझ अफसिजनको समयमा त छुनै नसकिने हुन्छ । बाहिरबाट आयात हुने भन्दा पनि यहीं स्थानीय उत्पादन भएको काउली महंगो भएको देखिन्छ । कालीमाटी तरकारी विकास समितिका अनुसार नेपालमा वार्षिकरुपमा १५ करोड ९७ लाख केजी भन्दा बढी काउली आयात हुने तथ्याङ्क रहेको छ । काउली नेपालीहरुको लोकप्रिय तरकारी मध्येको एक हो ।
४.घिउ सिमी
घिउ सिमी तराई, मध्यपहाड र उच्च पहाडी भेगमा पाइने गर्दछ । घिउ सिमी झाँगे सिमी, लहरे सिमी, त्रिशूली घिउ सिमी र फोर सिजन ( चौमासे घिउ सिमी ) गरि घिउ सिमीका जातहरू केन्टकी वन्डरबाट विकसित भएकाले नेपालमा केन्टकी वन्डर भन्दा घिउ सिमीको नामले प्रचलित छ । यसको लहरा जान्छ र मोजेक भाइरस रोग लाग्दैन । घिउ सिमी थम्पसन केलीका अनुसार घिउ सिमीलाई ( फ्रेन्च बिन) निम्नानुसार विभाजन गर्न सकिन्छ । यसको कोसाको लम्बाइ २०–२५ सेमी हुन्छ । कोसा हरियो रंगको, लामो ९ आकारको, रेसायुक्त, पोटिलो र भाँच्न सजिलो हुन्छ । यो ६०–७० दिनमा हरियो कोसा तयार हुन्छ । बीउ कफी रंगको खैरो हुन्छ भने आँखा प्याजी रंगको हुन्छ । घिउ सिमी पनि नेपालीहरुले मन पराउने तरकारी हो । नेपालमा वार्षिक ८ लाख ५० हजार केजीभन्दा बढी आयात भइ खपत हुने गरेको छ ।
५.पुदीना
नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ । यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिने भएकाले नेपालीहरुले यसको अचार बनाएर खाने गरेका छन् । दुई दर्जन जात र सयाैँ प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ । त्यसैले पनि बजारमा यसको मूल्य एक सय भन्दामाथि नै रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचि अनुसार पुदिना केजीको १ सय ५० रुपैयाँ रहेको छ ।
६.च्याउ
नेपालीहरुमा माझ च्याउको तरकारी लोकप्रिय नै रहेको छ । च्याउ नेपालमा मासिक १८ करोड रुपैयाँ भन्दाबढी आयात हुने गरेको छ । विश्वमा ७ सय २० प्रकारका च्याउ मध्ये ६५ प्रकारका च्याउ खान योग्य रहेका छन् । त्यसमध्ये नेपालमा गोब्रे च्याउ मात्र १८ करोड रुपैयाँको आयात हुने गरेको च्याउ उत्पादन संघले जनाउदै आएको छ । पछिल्लो समय नेपालमा पनि च्याउ खेती गर्नेहरु बढ्दै गएका छन् । यसरी च्याउ खेती गाउँमा भन्दा पनि शहर केन्द्रित हुँदै गएको छ । नेपालमा विभिन्न जातका च्याउ उत्पादन हुने गरेका छन् । जस मध्ये कन्ये, गोब्रे, सिताके, मिल्की, ग्यानोडर्मा मूख्य हुन् । तिनीहरुको बार्षिक ५१ लाख ३८ हजार प्याकेट च्याउको बीउ उत्पादन गर्दै आएको छ । अहिले च्याउ उत्पादन किसानले विभिन्न समस्या भोग्दै आएका छन् । जसमा कच्चा पदार्थको अभाव, गुणस्तरिय बिउको अभाव, पूँजीगत समस्या, बीमाको समस्या, श्रमिकको समस्या रहेका छन् । भन्सार विभागको तथ्यांक अनुसार लगभग १८ लाख रुपैयाँको च्याउ नेपाल आयात हुने गरेको छ । चीन, भारत, थाइल्याण्डबाट च्याउ आयात हुने गरेको तथ्यांकले देखाएको छ । अहिले नेपाली बजार दुई प्रकारका च्याउ रहेका छन् । जसमध्ये कन्ये च्याउको मूल्य १५० र डल्ले च्याउको मूल्य ४५० रुपैयाँ रहेको छ ।
७.गुन्द्रुक
गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा समेत गुन्द्रुक पुग्ने गरेको छ । नेपालीहरुले कोसेलीको रुपमा गुन्द्रुक बोक्ने गरेका छन् । गाउँघरदेखि शहरका तारे होटल र सुपरस्टोरहरुमा समेत गुन्द्रुक उपलब्ध रहका छन् । गुन्द्रुक गुणी खान्की पनि हो । गुन्द्रुकले न तपाईंको शरीरभित्र विकार पैदा गर्छ, न वायु । बरु पेट सफा राख्छ । त्यसबाहेक पनि अरु पौष्टिक तत्व गुन्द्रुकमा पाइन्छ । हरियो सागपातलाई घाममा ओइलाएर बनाउने गुन्द्रुक लामो समय भण्डारण गरेर खान सकिन्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा यही गुन्द्रुक पनि चीनबाट आयात हुने गरेको छ । रसुवागढी नाकाहुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा रहेको छ । अहिले कालीमाटी तरकारी बजारका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय ५० रुपैंयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ ।
८.लसुन
लसुन नेपालीहरुको भान्सामा सधैं प्रयोग हुने गरेको छ । नेपालमा वार्षिकरुपमा अर्बौं रुपैयाँको लसुन आयात हुने गरेको छ । अहिले कोरोना महामारीका कारण चीनबाट लसुन आयात हुन नपाउँदा बजारमा लसुनको मूल्य आकाशिएको छ । अहिले नेपाली लसुनको मूल्य २ सय ५० रुपंैयाँ र चाइनिज लसुनको मूल्य १ सय ७० रुपैंयाँ रहेको छ । एक वर्ष अगाडि लसुनको मूल्य बढेर नेपाली बजारमा सरदर ६ सय ५० रुपैंयाँ प्रतिकिलो पूगेको थियो । गत आव ०७५/७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो । नेपाल कृषि प्रधान देश भएता पनि कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले नै झल्काउने गरेको छ । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुने गरेको छ भने सबैभन्दा धेरै चीनबाट हुन्छ ।
९.धनियाँ
धनियाँ स्वाद र स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ । धनियाँ प्रायः तरकारीमा मिसाएर तथा अचार बनाउन प्रयोग गरिन्छ । धनियाँ नेपालीहरुले सधैं प्रयोग गर्ने गर्दछन् । अचारमा होस् वा तरकारीमा धनियाँको मिश्रणले स्वाद दोब्बर बढाउँछ । धनियाँलाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । धनियाँ चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ । यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ । तराई क्षेत्रमा आश्विनदेखि मंसिरसम्म, मध्य पहाडमा भाद्रदेखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना धनियाँ लगाउन सकिन्छ । अहिले नेपाली बजार धनियाँको मूल्य उच्च रहेको छ । कालीमाटी तरकारी बजारको मूल्यसूचि अनुसार प्रतिकेजी ४ सय रुपैयाँ रहेको छ । हरियो धनियाँ नेपालमा वार्षिकरुपमा ८ लाख ३३ हजार मेट्रिक टन भन्दा बढी आयात हुने गरेको छ ।
१०.खुर्सानी
खुर्सानी पीरो स्वाद हुने एक किसिमको तरकारी हो । धेरैले खुर्सानी स्वादका लागि खाने गर्दछन् । खुर्सानीको पीरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । ग्रीक भाषाको टोक्ने वस्तु बुझाउने शब्दबाट यो नाम बनेको हो । खुर्सानीले पोर्चुगाली र स्पेनी अन्वेषकहरू मार्फत एसिया महाद्वीप छिचोलेको हुनुपर्छ भन्ने मान्यता रहेको छ । खुर्सानी धेरै थरीका हुन्छन् डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पीरो वर्गमा पर्दछ ।
खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ । पीरो मन पराउनेको लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन । नेपालीहरुले पनि खुर्सानी धेरै नै प्रयोग गर्ने गर्दछन् । नेपालमा सुकेको र हरियो दुबैको प्रयोग गर्ने गर्दछन् । पछिल्लो समय नेपाली बजारमा खुर्सानीको मूल्य पनि अत्याधिक बढ्दै गएको छ । अहिले नेपाली बजारमा सुकेको खुर्सानी ३ सय २० रुपैयाँ प्रतिकेजी छ । हरियो खुर्सानी १७० र अकबरे हरियो २६० रुपैयाँ रहेको छ ।
कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार वार्षिकरुपमा सुकेको खुर्सानी १ लाख ३३ हजार र हरियो खुर्सानी ४८ लाख ७२ हजार केजी भन्दा बढी आयात हुने गरेको छ । यी भन्दा बाहेक अन्य धेरै तरकारीहरु सय रुपैयाँ भन्दा बढी मूल्य पर्ने रहेका छन् भने लाम्चो भन्टा, तने बोडी, परवल, घिरौंला, न्यारो, तामा, गाजर, तोफु र इमिली लगायतका तरकारीहरु सय रुपैयाँ पर्दछन् । यसरी नेपालीहरुको भान्सा दिनप्रतिदिन महंगो हुँदै गएको छ ।































प्रतिक्रिया