जनताको आयआर्जनको सुनिश्चितताका लागि ठोस कार्यक्रम ल्याउन अर्थमन्त्री शर्मालाई विनोद चौधरीको सुझाव

जनताको आयआर्जनको सुनिश्चितताका लागि ठोस कार्यक्रम ल्याउन अर्थमन्त्री शर्मालाई विनोद चौधरीको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर देशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न माग गरेको छ।

समितिका संयोजक विनोदकुमार चौधरी तथा सहसंयोजक अनिल रूंगटा लगायतका पदाधिकारीले शर्मा ऊर्जामन्त्री हुँदा लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल अभियान सफल बनाए जस्तै कोरोना महामारी लगायत कारणले सिथिल बनेको अर्थतन्त्रलाई पनि माथि उकास्नु पर्नेमा सुझाव दिएका छन्।

चौधरीले विद्यमान जनस्वास्थ्य र आर्थिक संकटकै बीचमा प्राकृतिक प्रकोपले समेत विभिन्न क्षेत्रमा क्षति पु¥याइरहेको भन्दै आम जनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्। 

‘एकातिर कोभिडको प्रभाव निरन्तर जारी छ भने अर्कोतिर निर्माणाधीन परियोजना बाढीपहिरोका कारण दिन प्रतिदिन रोकिएका छन्,’ कार्यक्रममा चौधेरीले भने, ‘बनेका भौतिक पूर्वाधारहरुमा समेत क्षति पुग्नुका साथै नष्ट समेत भएकाले अब उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउन सकेमात्र अर्थतन्त्र चलायमान हुन सक्छ।’

मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैंक तथा वित्तीय संस्थाका ६ हजार शाखामार्फत प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न समेत सुझाव दिएको छ।

अर्थमन्त्रीलाई बुझाइएको सुझावमा समितिले बैंक तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दिगो बैंकिङमार्फत् सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दिगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु पर्ने उल्लेख गरिएको छ। 

यता अर्थमन्त्री शर्माले उपयुक्त सुझावहरूलाई ग्रहण गरी कार्यान्वयन गर्ने बताएका छन्। उनले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने पनि बताएका छन्।
 

Logo