नेप्सेले बनायो नयाँ रेकर्ड, १५.३० अंकले बृद्धि

नेप्सेले बनायो नयाँ रेकर्ड, १५.३० अंकले बृद्धि


बुधबार शेयर बजार मापक नेप्से परिसूचकले नयाँ उच्च रेकर्ड बनाएको छ । मंगलबार पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको नेप्से बुधबार पुनः नयाँ रेकर्ड राखेको छ ।

नेप्से सूचक १५.३० अंकले बढेर ३ हजार ९४.९५ विन्दुमा पुगेको छ। मंगलबार ३ हजार ७९.६६ विन्दुमा १५ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

बुधबार कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। बुधबार कारोबार आएका २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार होटल र बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। जसमा चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च रुपले बढेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको ३.०८ र बीमा उपसमूहको २ प्रतिशतभन्दा धेरैले बढेको छ।

बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ८.०६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशतले बढेको छ।

त्यस्तै, शेयरमूल्य घट्ने कम्पनीमा पञ्चकन्या माई हाइड्रोपावर, सिंगटी हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर, पाँचथर पावर कम्पनी, रसुवागढी हाइड्रोपावर र हिमालयन उर्जा रहेको छ ।

 

Logo