काठमाडौं ।
अर्थ मन्त्रालय सम्हालेका डा.युवराज खतिवडाको साढे दुई बर्षे कार्यकाल सकिएपछि अर्थ मन्त्रालय सम्हाल्ने बलियो दावेदारका रुपमा पूर्वअर्थमन्त्री विष्णु पौडेल देखिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट डा.युवराज खतिवडाको साढे दुई वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्रीका लागि निकै कसरत भएको छ । प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थमा दोहोर्याउन चाहे पनि पार्टीसँगै चौतर्फी विरोध भएपछि खतिवडालाई अन्य भूमिका दिने गरी अर्थ छोड्न लगाए ।
त्यस लगत्तै प्रधानमन्त्री ओलीले डा.खतिवडालाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ती गरे । डा.खतिवडा तथा एक जना अर्थ राज्यमन्त्री नियुक्ती गरेर अर्थ मन्त्रालय हाँक्ने कसरत भइरहेका बेला डा. खतिवडा अमेरिकाका लागि राजदूत भएपछि अब अर्थ मन्त्रालयमा सबैभन्दा बढी सम्भावना पौडेलको देखिएको छ । पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव हुन् । पार्टीको महाधिवेशन नजिकिँदै गरेको र पार्टी व्यवस्थापनको काममा समय दिनुपर्ने भएकाले पौडेलले आफू मन्त्री बन्ने इच्छा प्रकट नगरेको पौडेल निकट स्रोतको भनाइ छ । तर पौडेलको भित्री इच्छा भने अर्थमन्त्री बन्ने तर अरु मन्त्री नबन्ने रहेको पार्टीभित्र चर्चा छ । पौडेल प्रधानमन्त्री ओलीले असाध्यै रुचाएका पात्र हुन् । त्यसमाथि प्रधानमन्त्रीले अर्थ मन्त्रालय आफू मातहत राख्न चाहन्छन् । त्यसैले अर्थमा आफू निकटलाई ल्याउन चाहेकाले पौडेलको अर्थमा आउने सम्भावना बलियो बनेको हो ।
अर्थमन्त्रीको प्राथमिकतामा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा बहालवाला मन्त्री प्रदीप ज्ञवालीको नाम पनि आएको छ । पाण्डेको सम्भावना पनि बलियो नै छ । पाण्डे माधवकुमार नेपाल निकट हुन् । नेपाल पक्ष पाण्डेलाई अर्थमा लाने जोड गरिरहेको छ । तर प्रधानमन्त्रीले पौडेललाई नै अर्थमा लान जोड गरेपछि पाण्डे अन्य मन्त्रालयमा जाने गरी तयारी गरिएको छ । नेकपाको सचिवालय बैठक मंगलबार बसेको छ । दिउसो ४ बजे बोलाइएको बैंठकमा रिक्त रहेका मन्त्री पदमा नियुक्तीबारे छलफल भएको छ । रिक्त रहेका विभिन्न पदमा मन्त्रीहरु ल्याएर पूर्णता दिने समझदारी नेकपाका दुई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छ ।
राष्ट्रिय सभाको सदस्य भएसँगै अर्थमन्त्रीको दावेदारका रुपमा बामदेव गौतम पनि आएका थिए । तर राष्ट्रिय सभामा उनको नियुक्तीलाई लिएर रिट परेपछि गौतम आउने सम्भावना तत्कालका लागि टरेको छ ।































प्रतिक्रिया