फेरि बढ्यो खानेतेलको मूल्य, किन बढ्छ बारम्बार ?

फेरि बढ्यो खानेतेलको मूल्य, किन बढ्छ बारम्बार ?


खानेतेलको मूल्य पुनः बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर गएको भन्दै तेल उद्योगहरुले पुनः मूल्य बढाएका छन्।

पछिल्लो केही समय स्थिर रहे पनि पुनः सबै प्रकारका खानेतेलको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । 

गत वर्ष मंसिरसम्म दोब्बर मूल्यले बढेको थियो । मंसिरपछि प्रतिकार्टुन २ सय रुपैयाँसम्म घटेको थियो । तर एक हप्ताको अन्तरालमा कार्टुनमा एक सय रुपैयाँ भन्दा बढीले खानेतेलको मूल्य बढेको संघले जनाएको छ । 

उद्योगबाट नै मूल्य बृद्धि भएर आएकाले खुद्रा व्यवसायीहरुले त्यहीअनुसार बजारमा बेचिरहेको खुद्रा व्यवसायीहरुले बताएका छन्। पछिल्लो एक हप्तामा मात्रै खानेतेलको मूल्य लिटरमा २ देखि ३५ रुपैंयाँसम्मले महँगो भएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी  तुलाधरले जानकारी दिए ।

खुद्रा व्यवसायीहरुले आफैं उत्पादन नगर्ने भएकाले उद्योगीहरुसँग नै किन्नुपर्छ। बजारमा खुद्रा व्यवसायीहरुले बढाए भन्छन्। तर, उद्योगीहरुले नै मूल्य बढाएर ल्याएकाले त्यही मूल्यमा बेच्ने गरेको महासचिव तुलाधरको भनाइ छ। 

त्यस्तै,संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बजारमा उद्योगीहरुले केही महिना मूल्य घटाएजस्तो गरे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा पुनः मूल्य बढाएको बताए। उनले भने,‘उद्योगीले नयाँ तेलभन्दा पनि पुरानै स्टक तेल मूल्य बढेको भन्दै बजारमा बेचिरहेका छन्। यसले गर्दा खुद्रा व्यवसायीको बदनाम भएको छ । स्टिकरमा २३५ मूल्य रहेको छ तर अहिले उद्योगीले लिएको मूल्य २५५ छ। हामीले कुन मूल्यमा बेच्ने, नयाँ बेच्दा हामीले बढाएर बेचेको भन्ने आरोप लाग्छ।’

उद्यागीले केही समय तेलको मूल्य घटेको प्रचार गरे पनि एक महिनाको अन्तरालमा नै तेलको मूल्य पुनः बढाएर पुरानै अवस्थामा पुर्याइएको छ। पछिल्लो एक वर्षमा खानेतेलको मूल्य २० देखि ५६ प्रतिशतसम्म बढेको बज्राचार्यको भनाइ छ।
   
पछिल्लो समय तेलको मूल्य बजारमा प्रतिलिटर २३५ सम्म आइपुगेको थियो, तर पुनः ३० रुपैयाँले बढेर अहिले २६५ रुपैयाँकै अवस्थामा पुगेको छ। यसरी एक सातमा नै खानेतेलको मूल्य अनियन्त्रित रुपमा बढेका देखिन्छ तर अनुगमन गर्ने निकाय मौन बसेको उनको आरोप छ।

साउनको दोस्राे हप्तासम्म प्रतिलिटर २३० रुपैंयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको मूल्य शुक्रबारसम्म आइपुग्दा २५० रुपैयाँ पुगेको संघले जनाएको छ । 

एक वर्षमा दोब्बरले बढ्यो 

एक वर्षअघि १ सय ३० देखि १ सय ५० रुपैयाँसम्ममा पाइने तेल अहिले २ सय ६० रुपैयाँसम्म पुगेको छ। 

अहिले बजारमा  तोरी र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० बाट मूल्यवृद्धि भएर २ सय ६० पुगेको छ। भटमासको तेल प्रतिलिटर २ सय ३० बाट २ सय ५० पुगेको छ।

२०७७ कात्तिकमा भटमासको तेल प्रतिलिटर १३० देखि १४० रुपैंयाँ र सूर्यमुखी तेल १६० रुपैंयाँ प्रतिलिटरमा बिक्री भएको थियो । तर अहिले करिव एक वर्षको अन्तरालमा दोब्बरले बृद्धि भएर २६५ भन्दा माथि पुगेको छ।

यस्तै, गत वर्षसम्म १४० रुपैयाँ रहेको सूर्यमुखी तेलेको मूल्य लिटरमै तीन सय रुपैयाँ पुगेको थियो। तोरीको तेलको मूल्य पनि लिटरमा ५० रुपैयाँ भन्दा बढीले बढेर ३३० रुपैयाँ पुगेको थियो। 

भारततर्फ निकासीले मूल्य बढ्दो

एक वर्ष अगाडि भारत सरकारले नेपालबाट पाम आयल प्रतिबन्ध लगाएको थियो। पाम आयल बन्द गरेपछि नेपालबाट भारतमा तोरी, सोयाविन, सनफ्लावरको तेल निकासी बढ्न थालेको थियो। अहिले भने प्रतिबन्ध फुकुवा गरेको छ।

भारतमा निकासी बढेकाले भारतमा बेच्ने तेलको मूल्य नै नेपाली बजारमा लागु गर्ने गरेकाले गत वर्ष अत्याधिक रुपमा तेलको मूल्य बढेको थियो। तर पछि सरकारले अनुगमनपश्चात केही उद्योगलाई कारबाही गरेपछि केही मूल्य घटेको थियो। 

नेपालबाट भारतमा तेल निर्यात गर्न पाइने भएपछि यो व्यवसाय अहिले निकै फष्टाएको छ । नेपालबाट भारतमा गत आर्थिक वर्षमा मात्रै  ५३ अर्ब ६५ करोडको रुपैंयाँ बराबरको भटमासको तेल निर्यात भएको भन्सार विभागले जनाएको छ।

भारतमा निकासी वृद्धिको असर परेपछि नेपाली बजारमा एक सातायता सूर्यमुखीको तेल प्रतिकार्टुन २ हजार ६ सय ५० रुपैयाँ पुगेको व्यवसायीहरुले जनाएका छन्। 

त्यस्तै, सोयाबिनको तेल प्रति कार्टुनको दुई हजार चार सय रुपैयाँ भएको छ। तोरीको प्रतिकार्टुन ३ हजार २ सय ५० रुपैयाँ रहेको संघले जनाएको छ। एक महिनाअघि पनि तोरी, सूर्यमुखी र सोयाबिन तेलको मूल्य लगभग अहिलेकै जति नै रहेको थियो।

यसअघि तेलको मूल्य हालसम्मकै महँगो भएको थियो। बजारमा सबैभन्दा बढी माग रहेको सूर्यमुखी तेलको मूल्य कार्टुनको २७ सय रुपैयाँ र उपभोक्ता मूल्य लिटरको २ सय ७५ रुपैयासम्म पुगेको थियो। 

कहाँबाट आउँछ खानेतेलको कच्चा पदार्थ ?

नेपालमा खानेतेलको कच्चा पदार्थमध्ये सोयाबिनको अर्जेन्टिना र ब्राजिलबाट आउने गरेको छ भने इन्डोनेसिया र मलेसियाबाट पाम तेलको र सनफ्लावर तेलको युक्रेन र अर्जेन्टिनाबाट आयात हुने गरेको छ ।

यी मुलुकबाट नेपालमा खानेतेलको कच्चा पदार्थ ल्याएर नेपाली उद्योगीहरुले प्रशोधन गर्दै तेलको बिक्री गरिरहेका छन् । तर यी मुलुकबाट सिधै भारतमा कच्चा तेल ल्याउन पाउने व्यवस्था छैन।

अनुगमन गर्ने निकाय किन मौन ?

कोरोना महामारीको मारमा परेका सर्वसाधारण जनता बजारमा खानेतेल लगायतको बस्तुको मूल्य बृद्धि हुँदा मारमा परेका छन्। तर बजार अनुगमन गर्ने अधिकारप्राप्त निकाय भने मौन छ । 

बजारमा खानेतेलको मूल्य अत्याधिक रुपमा बढेको एक वर्ष पुगेको छ। यो बिचमा अनुगमनकारी निकाय उद्योग वाणिज्य विभागले तेलको मूल्यवृद्धिबारे एक पटक अनुगमन गर्यो। अनुगमन गरेर दुई उद्योगलाई कारबाही पनि गर्यो। तर कारवाहीमा परेका उद्योगी पनि छुटे। त्यसपछि विभाग मौन बसेको छ।

गत वर्षदेखि तेलको मूल्यबृद्धिको विषयमा अध्ययन तथा अनुगमन गरिरहेको तर अहिले पछिल्लो समय यो विषयमा अनुगमन तथा कारवाही नगरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। पछिल्लो समय मूल्यवृद्धिको गुनासो आएको छ। अनुगमन गरेर कारवाही गर्ने चरणमा पुगेका छैनौं। त्यसैले अहिले नै यस्तो कारबाही गछौं भन्ने अवस्था नभएको उनको भनाइ छ।

सेढाईंले भने,‘तेलको मूल्य बृद्धिको विषयमा गहिरो अध्ययन गर्नुपर्ने देखिन्छ । यसमा विभाग निरन्तर लागिरहेको छ। तेलमा उद्योगीका वास्तविक लागत लगायतको विषयमा अध्ययन गरेर बजार मूल्यको विषयमा चाँडै अनुगमन गर्ने तयारीमा छौं।’

Logo