काठमाडौं ।
यतिबेला बैंक तथा वित्तीय संस्थाहरु तथा अन्य विभिन्न कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । नेपालीहरुको महान चाड विजया दशमी नजिँकिदै गर्दा बैंकहरुले पनि आफ्ना लगानीकर्तालाई लाभांश दिन लागेका हुन् । यतिबेला बैंकलाई लाभांश घोषणाको चटारो परेको छ ।
यतिबेला कतिपय बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् भने कतिपय बैंकले लाभांश घोषणा गर्न सञ्चालक समितिको बैठक डाकिरहेका छन् । दशैं नजिँकिदै गर्दा बैंकबाट प्राप्त गरेको लाभांशले लगानीकर्ताले दशैंमा आफूलाई इच्छा लागेका सवारी साधन अथवा सामानहरु खरिद गर्ने सुवर्ण अवसर पनि यहि नै हो । त्यसका साथै बैंकहरुले दशैंमा दिएको लाभांशले कयौँ लगानीकर्ताले दशैं मनाउने गर्छन् । त्यसैले त वाणिज्य बैंकहरुले यस अवधीमा आकर्षक लाभांश दिँदै आएका छन् । गत वर्ष वाणिज्य बैंकहरु मध्ये एनएमबी बैंकले सबैभन्दा बढी ३५ प्रतिशत लाभांश दिएको थियो ।
यसपाली कुन बैंकले कति लाभांश देलान् भन्ने आश गरेर लगानीकर्ता कुरिरहेका छन् । यस वर्ष सबैभन्दा बढी लाभांश कुन बैंकले दिन्छ त्यो त हेर्न बाँकी नै छ । यस वर्ष माछापुच्छ्रे बैंकले सबैभन्दा पहिले लाभांश घोषणा गरेको छ । माछापुच्छ्रे बैंकले नगद तथा बोनस शेयरसहित १०.४० प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यसैगरी, बैंक अफ काठमाण्डूले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर तथा ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत गरी) १६ प्रतिशत लाभांश दिन लागेको हो । प्रस्ताव गरेको नाफा नेपाल राष्ट्र बैंकको स्विकृती तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ । हाल बैंकको चँुक्तापूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पारित भएर सेयरधनीमा वितरण गरेपछि चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ४७ करोड ५५ लाख रुपैंयाँ नाफा गरेको छ भने ८८ करोड ७ लाख रुपैंयाँ वितरण योग्य नाफा कमाएको छ ।
गत वर्ष सिभिल, मेगा बैंक, र स्ट्याण्डर्ड चार्टर्डले नगद लाभांश मात्र वितरण गरेका थिए । मेगाले ११.७५ प्रतिशत, सिभिलले ६.५७ प्रतिशत र स्टयाण्डर्ड चार्टर्डले २२.५० प्रतिशत नगद लाभांश वितरण गरेका थिए । त्यसैले लगानीकर्ता असन्तुष्ट बनेका थिए । लगानीकर्ताले सधैं नगद भन्दा बोनस शेयर नै मन पराउने भएकाले बैंकले त्यसतर्फ ध्यान पुर्याउनु पर्ने देखिन्छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरिसक्नु पर्ने कानुनी व्यवस्था छ । बैंकहरुले पुस मसान्तभित्र लाभांश घोषणा गरिसक्नु पर्छ । यदि बैंकले त्यसो गर्न सकेनन् भने सुशासनको अभाव भएको मानिन्छ ।































प्रतिक्रिया