सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए

सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए


सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। 

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनमा सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्। साउन ३२ गते कोशीमा यसवर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो। 

पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ। पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ। चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ। जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ। 

यसैबीच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै नै उतारचढाव देखिंदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए। उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ। नदीको वहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरिक्षणमा निस्किएको छ।

Logo