मध्यमवर्गीयले चढ्ने मोटरसाइकलमा १० प्रतिशत कर बृद्धि

मध्यमवर्गीयले चढ्ने मोटरसाइकलमा १० प्रतिशत कर बृद्धि


अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत् संशोधित बजेट ल्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् ल्याएको बजेटमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएका कार्यक्रमहरू परिमार्जन गरेका छन्।

अर्थमन्त्री शर्माले बजेट परिर्माजन मात्रै गरेनन्, उनले बजेटको आकारसमेत घटाएर संशोधित बजेट संसदमा पेश गरेका थिए।

शर्माले संशोधित बजेटमा करको दरसमेत हेरफेर गरे । संशोधित बजेटमा सरकारले करको दर परिर्वतन गर्छ भन्ने कसैले आँकलन समेत गरेका थिएनन् । तर, सरकारले एक्कासी बजेटमार्फत भन्सार दर परिर्वतन गर्दा रुखबाट खसेको जस्तै भएको उद्योगी व्यावसायीहरूले बताएका छन्।

एकै वर्षमा सरकारले दुई पटक भन्सार दर परिर्वतन गर्दा व्यावसायमा ठूलो असर पर्ने अटो व्यवसायीहरू बताएका छन् । सरकारको अस्थिर कर नीतिका कारण व्यावसायीदेखि सर्वसाधारणसम्ममा ठूलो असर परेको छ।

सरकारले प्रतिस्थापन विधेयकमार्फत् न्यूनवर्गीय मानिसहरूले सबैभन्दा बढी चढ्ने मोटरसाइकलमा नै अन्तःशुल्क र सडक दस्तुर बढाएको छ।

न्यूनवर्गीय मानिसहरूले सबैभन्दा बढी रूचाएर चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलको १० प्रतिशत कर बढाएको छ। यसरी अब १५० देखि १६० सिसीका मोटरसाइकलको मूल्य नै १५ देखि  २० हजार रुपैयाँसम्म बढ्ने भएको छ ।

सरकारले ल्याएको प्रतिस्थापन विधेयकले नेपालमै एसेम्बल गर्ने दुई पाङ्ग्रेको अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दियो । तर न्यून तथा मध्यम वर्गीयले चढ्ने १२५ देखि २५० सीसीका मोटरसाइकलको अन्तःशुल्क १० प्रतिशत बढाएको हो।

विधेयकले १ सय २५ देखि १ सय ५५ सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको अन्तःशुल्क ४० देखि ५० प्रतिशत बनाएको छ । त्यस्तै, २ सयदेखि २ सय ५० सम्मका मोटरसाइकल तथा स्कुटरको ५० बाट ६० प्रतिशत पुर्याएको छ ।

त्यस्तै, विधेयकमार्फत् सडक निर्माण दस्तुर पनि बढाएको छ । यसअघि १ सय ५५ सीसीसम्मका दुुईपाङ्ग्रे सवारीसाधनमा १५ हजार रुपैयाँ, १५५ देखि २५० सीसीसम्म १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसीससम्म ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका दुुईपाङ्ग्रे सवारीसाधनमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने गरेको थियो । 

तर, अब प्रतिस्थापन विधेयकपछि  १२५ सीसीसम्मका दुुईपाङ्ग्रे सवारीसाधनलाई १५ हजार रुपैयाँ, १२५ देखि २५० सीसीसम्मलाई १८ हजार रुपैयाँ, २५० देखि ४०० सीसीसम्मलाई ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने नयाँ व्यवस्था गरेको छ ।

१ सय २५ देखि २ सय ५० सीसीसम्मका मोटरसाइकल र स्कुटरमा बढेको अन्तःशुल्क र सडक निर्माण दस्तुरले उपभोक्तामाथि १५ देखि २० हजारसम्म आर्थिक भार थपिएको व्यापारीहरू बताउँछन् । 

कोरोना महामारीको समयमा सार्वजनिक सवारीसाधनहरू प्रयोग गर्न प्रायः मान्छेहरू डराइरहेको अवस्थामा सरकारले मोटरसाइकलको सडक निर्माण दस्तुर र अन्तःशुल्क महसुल दुवैमा वृद्धि गर्नुु निराशाजनक भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

अध्यक्ष दुलालले मोटरसाइकलको अन्तशुल्कमा हुने परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पार्ने भएकाले सरकारले गत वर्ष कायम गरेको व्यवस्थालाई नै निरन्तरता दिनुपर्ने बताएका छन्। 

सरकारले अटो व्यवासायी र सर्वसाधरण दुवैको हितलाई मध्यनजर गर्नुपर्ने  हो । तर, सरकारबाट त्यस्तो काम नभएको उनले बताए । 

सरकारले  प्रतिस्थापन बजेटमा ‘एसेम्बल’ गरी गाडी उत्पादन उद्योगहरूको लागि राहत दिए पनि न्यूनवर्गीय मानिसहरुले चढ्ने मोटरसाइकललाई नै लक्षित गरी अन्तःशुल्क बढाउनु गलत भएको छ। तर, सरकारको नीतिले एसेम्बल गरी गाडी उत्पादन उद्योगको भने उदय हुने दुलालको दाबी छ।

उनले भने,‘सरकारको भन्सार कर नीति अस्थिर भएको छ। कर नीति स्थिर भएमात्रै व्यावसायी र उपभोक्तालाई राम्रो हुन्छ।’

सरकारले प्रतिस्थापन विधेयकमार्फत् आयातित दुुईपाङ्ग्रे सवारीसाधनमा अन्तःशुल्क र सडक निर्माण दस्तुर बढाउनु न्यूनवर्गीय ग्राहकको हितमा नभएको नाडाका कार्यसमिति सदस्य तथा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए।

अहिले सरकारले बढाएको कर अटो व्यवसायीभन्दा पनि उपभोक्तालाई नै बढी मार पर्छ । व्यावसायीले जति बढेको छ, त्यहीअनुसार खरिद गरेर लागतअनुसार मूल्य राखेर बेच्छन्। उनले भने,‘सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा कर परिर्वतन नगरेको भए राम्रो हुने थियो।’

कुन–कुन कम्पनीको बाइकको मूल्य बढ्दैन ?

नेपालमा दुई वटा कम्पनीले एसेम्बल गरेर बाइक उत्पादन गर्ने गरेको छ। एसेम्बल उद्योगहरूको लागि अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेटमार्फत् ‘एसेम्बल’ गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले ‘अनएसेम्बल’ अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेका छन्।

यस्तो नयाँ व्यवस्थाले नेपालमा एसेम्बल हुने बजाज र टीभीएस मोटरसाइकलको मूल्य भने त्यति धेरै नबढ्ने देखिएको छ।

तर, सडक दस्तुर भने एसेम्बलको लागि पनि बृद्धि गरेको छ । यसरी एसेम्बललाई पनि प्रतिगोटा ३ हजार रुपैयाँ सडक दस्तुर शुल्क बढेको हुनाले नेपालमै एसेम्बल हुने बाइकको मूल्य पनि थोरैले बढ्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

बजाज र टीभीएस नेपालमै एसेम्बल हुने भएकाले यिनले अन्तःशुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन् । 

तर, यता हिरो, होण्डा, यामाहा, सुजुकी, अप्रिलिया, भेष्पा लगायतका विभिन्न ब्राण्डका विभिन्न मोडलका बाइक तथा स्कुटरमा बढेको अन्तःशुल्कले असर गर्नेछ । 

यामाहालाई बढी प्रभाव

प्रतिस्थापन विधेयकमार्फत् ल्याएको संशोधित बजेटमा बढाइएको भन्सार करले सबैभन्दा धेरै यामाहालाई प्रभाव पर्ने देखिन्छ। यामाहाका मात्रै ८ मोडलको मूल्य बढ्ने भएको छ। 

यामाहाको यामाहा एन म्याक्स–१५५ सीसी, यामाहा एसजेड–१५० सीसी, यामाहा एफजेड १६ एफआई–१५० सीसी, यामाहा एफजेड एफआई भीथ्री–१५० सीसी, यामाहा एफजेडएस एफआई डीडी–१५० सीसी, यामाहा एफजेडएस एफआई भीथ्री–१५० सीसी, यामाहा एमटी १५–१५५ सीसी, यामाहा आर १५–१५५ सीसी गरी ८ वटा मोडलमा कर बढ्ने देखिन्छ।

त्यस्तै, सुजुकी जिक्सर एसएफ १५०–१५४.९ सीसी, जिक्सर १५०–१५४.९ सीसी, जिक्सर डीटीडीडी–१५४.९ सीसी, हिरो हंक १५० आर–१५० सीसी, होन्डा सीबी युनिकर्न–१५० सीसी, अप्रिलिया एसआर–१५४.८ सीसी, भेष्पा भीएक्सएल–१४९ सीसी, बेनेली जेन जेरो–१५० सीसीको मूल्य बढ्ने छ।

सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल

नेपालमा १५० देखि १५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुने गरेका छन्।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा १०० सिसीदेखि २५० सिसीसम्मका दुई लाख १३ हजार एक सय ४४ मोटरसाइकल आयात भएको थियो ।

आयात भएकामध्ये १२६ देखि १५५ सिसीका मोटरसाइकल ८५ हजार आयात भएका थिए । यसअघि यो सेग्मेन्टमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई १० प्रतिशतले बढाएर ५० प्रतिशत पुर्याइएको छ ।

अघिल्ला वर्षहरूमा आयात भएका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीको बाहुल्यता बढी देखिन्छ । आव ०७५/७६ मा १०० सिसीदेखि २५० सिसीसम्म आयात भएका एक लाख ७८ हजार पाँच सय ७३ मोटरसाइकलमध्ये १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकल ७७ हजार नौ सय २७ थान रहेका छन्।

१०० सिसीदेखि १२५ सिसीसम्मका ५८ हजार नौ सय ६५ थान र १५६ सिसीदेखि २५० सिसीसम्मका ४१ हजार ६ सय ८१ थान आयात भएका थिए । 

आर्थिक वर्ष ०७६/७७ मा आयात भएका १०० सिसीदेखि २५५ सिसीसम्मका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकलको हिस्सा बढी देखिन्छ । 

यसरी नेपालको सहरदेखि दूरदराजका गाउँहरूसम्म १५० सिसीका मोटरसाइकल सर्वसाधारणको सवारीका माध्यम बन्ने गरेका छन्। 

पछिल्लो समय पहाडी भेगमा सबैभन्दा मध्यम वर्गको भरपर्दो साधन भनेकै यही सेगमेन्टका मोटरसाइकल हुन् । त्यसैले पनि नेपाली ग्राहकमाझ १२५ देखि १५५ सिसीसम्मका मोटरसाइकल अत्यधिक लोकप्रिय छन् । 

सवारीसाधन सबैभन्दा बढी बिक्री हुने सिजन दसैँ–तिहारको मुखमा अन्तःशुल्क र सडक दस्तुर बढेपछि मोटरसाइकल किन्ने प्रतिक्षामा रहेका उपभोक्ताहरुलाई निराश तुल्याउने देखिन्छ ।

Logo