‘डेडलक’मा अर्थतन्त्र चलायमान बनाउन केन्द्रिय बैंकले नेतृत्व लिनुपर्ने’

‘डेडलक’मा अर्थतन्त्र चलायमान बनाउन केन्द्रिय बैंकले नेतृत्व लिनुपर्ने’


अर्थविद्हरुले सरकार र संसद्को असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका छन् । 

बुधबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । 

कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताए । 

चार किसिमले सामान्यतया बजेट खर्च गर्न पाउने स्मरण गराउँदै अधिकारीले सञ्चित कोषमाथि व्ययभार हुने रकम, विनियोजन ऐन, उधारो खर्चसम्बन्धी ऐन ल्याएर र पेस्की खर्चबाट मात्र बजेट खर्च गर्न पाउने बताए । 

पूर्व मुख्यसचिव डा विमल कोइरालाले देश कठिनतम अवस्थामा प्रवेश गरेको बताए । उनले देशको राजनीतिक दलहरुले यस्तै बठ्याइँ गरिरहे भविष्यमा पनि यही संस्कार बसिरहने हो कि भन्ने डर भएको धारणा राखे । 

पूर्व मुख्यसचिव कोईरालाले सरकारसँग बजेट कार्यान्वयन गराउने धेरै विकल्प हुँदाहुँदै पनि  चनाखो भएर आँकलन गर्न नसकेको बताए । उनले चुनावको घोषणा गरिसकेको सरकारले पूरा बजेट ल्याउन नमिल्ने पनि स्पष्ट पारे । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको नेतृत्व परिवर्तन हुँदैमा सरकारी नीति फितलो हुन नहुने बताए । उनले मुलुकको अर्थतन्त्र सधैँ चलायमान हुने किसिमको ऐन, नियम बनाउनुपर्ने जिकिर गरे । उनले सरकार बजेटबिहीन हुनु मुलुकको लागि दुर्भाग्य भएको औंल्याए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले सरकार बजेटबिहीन भएको परिस्थितिमा अर्थतन्त्रलाई बचाउन राष्ट्र बैंकले अगुवाइ गर्नुपर्ने धारणा राखे ।

उनले राजनीतिक माहोल सामान्य भएर बजेट पास हुने कुरा अन्योलमा रहेको बताउँदै केन्द्रिय बैंक देशको अर्थतन्त्र जोगाउन जाग्नुपर्ने बताए। 

थापाले डेडलकको यो अवस्थामा देशको अर्थतन्त्रलाई उकास्न र चलायमान बनाइराख्न केन्द्रिय बैंकले नेतृत्व लिनुपर्ने सुझाए। 
 

Logo