पछिल्लो एक महिनादेखि निरन्तर रूपमा घट्दै गएको शेयर बजार बुधबार भारी अंकले बृद्धि भएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर धितो कर्जामा ४ करोडदेखि १२ करोड सम्मको सीमा तोकेसँग शेयर बजार प्रभावित भएको थियो।
त्यसपछि बैंकिङ प्रणालीमा तरलता अभावको कारण बैंकहरूले निक्षेपमा तथा कर्जामा ब्याज बढाउँदा यसको प्रभाव पनि बजारमा पर्दै गएको छ।
तर, बुधबार नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव यता शेयर बजारमा देखिएको छ।
यसरी पछिल्लो एक महिनाको अन्तरालमा निरन्तर रूपमा गिरावट आएको बजार मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेका थियो।
बुधबारको कारोबारमा नेप्से परिसूचक १०४.८८ अंकले बढेर २ हजार ८१६.९५ अंक पुगेको छ।
आज कारोबारमा आएका २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँमा कारोबार भएको छ ।
कारोबार आएका कम्पनीमध्ये २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा गुहेश्वरी मर्चेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सिन्धु विकास बैंक, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य बढेको छ।
त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स, हिमाल उर्जा विकास कम्पनीलगायतका कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, बुधबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको १८ करोड ४८ लाख, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख, अपि पावरको १३ करोड २ लाख र महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।





























प्रतिक्रिया