बजार अनुगमनः ‘उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन सकेन’

बजार अनुगमनः ‘उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन सकेन’

केन्द्रबिन्दु
0
Shares

नजिकिँदै गरेको दशैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन्।

आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तर्क्रिया कार्यक्रम’मा बोल्दै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन्।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए। उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उनले बताए। स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिँदा प्रभावकारीरुपमा बजार अनुगमन हुन नसकेको उनले उल्लेख गरे।

नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पद्धार्थको आपूर्ति सहजरुपमा हुने बताए। पेट्रोलियम पद्धार्थको माग अनुरुप आपूर्ति गर्न आयल निगम सक्षम रहेको उनको भनाइ छ। गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उनले आग्रह गरे।

महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशिलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको बताए। उनले आर्थिक अपराध, चोरी, लुटपाट, ठगि लगायतका घटना नियन्त्रणका लागि उपत्यकामा थप ७ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको बताए। व्यापारिक केन्द्रलाई प्रहरी निगरानीमा राखिएको उनले बताए। उपत्यकामा १३१ स्थानमा ट्राफिक प्रहरी राखिएको, ३९ ठाउँमा थप मोवाइल गस्ती राखिएको, ८० ठाउँमा पैदल गस्ती राखिएको, २८ ठाउँमा हेल्पडेस्क राखिएको पनि उनले जानकारी दिए। हाल उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको जनाउँदै ढुक्क भएर चाडपर्व मनाउन र कुनै असुविधा भएमा प्रहरीको सेवा लिन प्रवक्ता राठौरले आग्रह गरे।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाईले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए। विभाग स्रोत अनुगमन र सूचनामा आधारीत अनुगमनमा केन्द्रीत भएको उनले उल्लेख गरे। बजार अनुगमनका लागि हाल विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको उनले जानकारी दिए।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताए। भीडभाड हुने ११ ठाउँमा हेल्प डेस्क राखिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयले गुनासो सुन्ने अधिकारी तोकेको पनि उनले जानकारी दिए। सिमानाकाको चेकजाँच र ट्राफिक सक्रियता बढाएको उनले बताए। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबिच समन्वय रहेको पनि उनको भनाइ छ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वमा सडक दुर्घटना हुने सन्दर्भलाई ख्याल गर्दै बाटोमा हुने खाल्डाखुल्डी पुर्न सहजीकरण गर्नका लागि बैठकहरु बसिरहेको बताए। बजार अनुगमनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहेको पनि उनको भनाइ छ। खाद्यान्न, लत्ता कपडा, मासुजन्य पद्धार्थमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको पनि उनले बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले विभागले दाल, चामल, मरमसला, तेल, दुग्ध पद्धार्थलाई केन्द्रीत गरेर बजार अनुगमन गरिरहेको बताइन्। बिदाको दिनमा पनि निरन्तर अनुगमन र जाँचमा मातहतका निकायलाई परिचालित गरिरहेको उनको भनाइ थियो। 

ललितपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रशासनले एकीकृत सुरक्षा रणनीति अन्र्तगत काम गरिरहेको बताइन्। १८ वटा गाडी, २० वटा मोटरसाइकलमा नियमितरुपमा गस्ती अनुगमन गरिरहेको उनले उल्लेख गरिन्। बैंक तथा वित्तिय संस्थामा अनुगमन तिव्र पारिएको उनले बताइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसि संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा पठाएको र मन्त्रालय मातहतबाट काम भइरहेको बताए। उनले तीनै तहको सरकारले अनुगमनको काम गर्नुपर्नेमा जोड दिए। बजारलाई अनुशासित बनाउनका लागि प्रविधिको प्रयोग गरेर अनुगमनलाई जोड दिन सम्बन्धित निकायलाई उनले आग्रह गरे। उनले व्यवसायीलाई उपभोक्तालाई नठग्न पनि आग्रह गरे।

सचिव राउतले कानूनले वर्जित गरेका कुराहरु बेचविखन नगर्न समयमै व्यापारी, व्यवसायीहरुलाई सचेत गराउन पनि सम्बन्धित निकायलाई आग्रह गरे।

Skip This
Skip This
Logo