च्याउ खेतीले दिलकुमारीलाई दिलायो अन्तर्राष्ट्रिय पुरस्कार

च्याउ खेतीले दिलकुमारीलाई दिलायो अन्तर्राष्ट्रिय पुरस्कार

केन्द्रबिन्दु
0
Shares

पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा परेकी छिन् । 

मगरले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गरेकी छिन् ।

“च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुसी लागेको छ”, दिलकुमारीले भनिन् ।
उनलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । 

विगत एक दशकदेखि च्याउ व्यवसायमा आबद्ध दिलकुमारीले व्यवसायलाई थप गर्दै जाने बताइन् ।

उनको फार्ममा हाल एक हजार सात सय बल्ब च्याउ छन् । उनका अनुसार फार्मबाटै बजार मूल्य हेरेर थोकमा प्रतिकिलो रु २१० देखि २२० मा अहिले खपत हुँदैछ । व्यापारी घरमै आएर च्याउ खरिद गर्ने हुँदा धेरै सजिलो छ ।  

च्याउ खेतीमा प्रोत्साहन गर्दै व्यवसाय सुरु गर्दाका क्रममा साबिक जिल्ला कृषि विकास कार्यालय पाल्पाले रु २५ हजार अनुदान दिएपछि यस व्यवसायमा उत्साह बढ्दै जाँदा अहिले वर्षमा च्याउबाट लाखौँ कमाउन सकिने भएको उनको अनुभव छ ।  

दिलकुमारीले आफूमात्रै होइन, गाउँका अन्य छिमेकी महिलालाई पनि यस व्यवसायमा लाग्न प्रेरित गराउँदै च्याउ खेती गर्ने प्रविधि सिकाउँछिन् । रासस

Logo