यस्ताे बन्दैछ करिब ७० करोडको लागतमा काठमाडौं महानगरको ८ तले भवन

यस्ताे बन्दैछ करिब ७० करोडको लागतमा काठमाडौं महानगरको ८ तले भवन


काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । 

सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । 

काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/ कर्मचारी/आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ ।  

भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए । महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुनधारामा केन्द्रीय भवन बनाउन नसकेको प्रमुख शाक्यले बताए । 

उनले भने ‘आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’

शाक्यले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । उनले राम्रो कामको सुरुवात गर्न समयसिमा नुहुने भन्दै आफ्नै कार्यकालमा शिलान्यास हुँदा खुसी लागेको बताए ।  ‘रुख रोप्नु ठुलो कुरा हो, यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कसले खान्छ भन्ने ठुलो कुरा होइन ।”

उनले महानगरका सेवाग्राहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए । महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए । 

महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्ग फुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सतौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौं महानगरपालिकाले बताएको छ । भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।  

Logo