१३ मंसिर २०७८ सोमबार

गण्डकी प्रदेशले बनायो एकै वर्ष ११५ झोलुंगे पुल, हालसम्म कति बने ?

बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ। आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ। गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइसकेका छन्। जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार सय ४८  वटा पुल बनेका छन्।

म्याग्दीमा दुई सय ४१ वटा झोलुंगे पुल निर्माण भएका छन्। लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङ्जामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपुर र मुस्ताङमा समान ६५/६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनलयले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन्। २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो।

झोलुंगे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झोलुंगे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ। एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन्। त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन्।

नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ। नयाँ संरचनाअनुसार प्रदेशस्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको छ। स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो।

‘प्रदेश सरकारले झोलुंगे पुल रणनीति बनाइसकेको छ। आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ निर्देशक बरालले भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ। त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं।’

चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने योजना छ। ‘अहिले योजना छनौट भइरहेको छ। दसैँअघि निर्माण सुरु हुँदैन,’ उनी भन्छन्, ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो। खासगरी सडक पुल नभएका ठाउँमा झोलुंगे पुल राख्नुपर्छ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ। तनहुँका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको बरालले बताए।न्युज कारखाना

अर्थ संसार

प्रकाशित: ३१ असोज २०७८ १४:२१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी