उपत्यकामा घट्न थाल्यो तरकारीको भाउ, फलफूलको भाउ पनि विस्तारै ओरालो लाग्दै

उपत्यकामा घट्न थाल्यो तरकारीको भाउ, फलफूलको भाउ पनि विस्तारै ओरालो लाग्दै


दशैं सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । 

दशैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउली लगायतका केही वस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो। दशैंको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुको गुनासो थियो । तर, दशैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए। उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै सामान्यकरण हुँदै गएको काराण मूल्य घट्ने क्रम जारी रहेको बताए। गोलभेंडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए।

समितिका उपनिर्देशक श्रेष्ठले यसबर्ष बढी वर्षा भएका कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्यवृद्धि भएको दावी गरे। यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको बताए। 

दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो। अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ। दशैं, तिहार लगायतको चाडपर्वका बेला व्यापारीहरुले हरेक सामानको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन्। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक बर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन्।

Logo