जैमिनी नगरपालिका–५ बिनामारेमा सामूहिक रूपमा पशुपालन थालिएको छ । सतहत्तर जनाको समूहले प्रतिव्यक्ति रु ५० हजारका दरले रकम सङ्कलन गरी रु ६१ लाख लगानीमा श्रीकृष्ण काली गण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालन गरेका हुन् ।
कोरोना त्रासकै बीचमा गाउँमा विदेशबाट फर्किएका, अवकाश लिएर बस्नुभएका, बेरोजगार युवा मिलेर सामूहिक रूपमा फार्म खोलेर दूध बिक्री सुरु गरेको श्रीकृष्ण काली गण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालक समितिका अध्यक्ष दिपेश पौडेलले बताए। जैमिनी नगरपालिकाबाट रु १८ लाख अनुदान र ७७ जनाबाट रु ५० हजारका दरले रकम सङ्कलन गरी ५४ रोपनी जग्गामा फार्म सञ्चालन गरेको उनले बताए ।
गाउँमा भएका युवा विदेश पलायन हुने र बजारबाट दूध र दुग्धजन्य वस्तु किनेर गाउँमा ल्याउनुपर्ने अवस्थालाई ध्यानमा राखेर गाउँमै दूध उत्पादन गरी बिक्री गर्ने योजनाका साथ सामूहिक फार्म सञ्चालन गरिएको उनको भनाइ छ । “आफ्नै देशमा गरे के हुँदैन ? हामी सबै मिल्यौँ या चाह्यौँ भने सम्भव हुनसक्छ, यसका लागि दृढ इच्छाशक्ति र मेहेनत चाहिन्छ”, पौडेलले भने, “यस्तो प्रयासले गाउँमै रोजगारीको समेत सिर्जना हुनेछ, फार्मलाई बिस्तारै बढाउँदै लैजाने उद्देश्य रहेको छ ।”
“असारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको फार्ममा अहिले १२ वटा भैँसी र चार वटा गाई रहेको छ”, उनले भने, “अहिले जैमिनीका अधिकांश घरमा हाम्रो फार्मबाट दूध जान्छ, दैनिक १२० लिटर दूध बिक्री गरेका छौँ, हामीले आगामी दिनमा जैमिनीवासीलाई दूध पुर्याएर बागलुङ बजार र कुश्मा बजारमा समेत दूध बिक्री गर्ने योजना बनाएका छौँ ।” अध्यक्ष पौडेलले दूधबाट बनाउन मिल्ने कुराउनी, दही, घिउ, पनिर पनि अहिले उत्पादन गरेका छौँ भन्दै बाँकी दिनमा थप दुग्धजन्य पदार्थबाट बनाउने परिकार तयार गर्ने र बिक्री गर्ने योजनामा रहेको बताए । “कोरोना सङ्क्रमण जोखिमका कारण हामीले चाहे जति गाई भैँसी फार्ममा पाल्न नसकेको अवस्था रहेको छ”, उनले भने ।
उन्नत जातका भैँसी र गाई भारतबाट ल्याउने भनिएता पनि कोरोनाले गर्दा महँगो पैसा हालेर पोखराबाट गाई भैँसी खरिद गरिएको हो । अहिले गाईभन्दा भैँसीको दूधको माग बढी छ । फार्ममा पाँच जनालाई रोजगार दिएको श्रीकृष्ण काली गण्डकी पशुपक्षी तथा कृषि फार्म सञ्चालक समितिका सदस्य कृष्णबहादुर हमालले जानकारी दिए ।
भर्खर मात्र फार्म खुलाएका कारणले फार्ममा अझै धेरै काम बाँकी रहेता पनि आधुनिक गोठ बनाएर गाई, भैँसी राखेको हमालले बताए । “बाहिरबाट ल्याएका गाई, भैँसी यहाँ बिरामी हुने र मर्ने गरेका छन्, हामीसँग अहिले सबै गाई, भैँसी असोज कात्तिकमा दूध दिनेछन्, यो सिजनमा गाउँमा सबैको घरघरमा दूध पाउन सकिन्छ”, उनले भने, “पुस, माघको समयमा दूधको खडेरी लाग्ने भएकाले अब हामीले सात वटा भैँसी पुस, माघमा दूध दिने गरी पाल्ने योजनामा छौँ, हामीसँग अहिले रु एक लाख ५० हजारसम्म पर्ने भैँसी गोठमा छन् ।”































प्रतिक्रिया