नेपाल कृषि प्रधान देश हो तर, यहाँ राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अन्नबाली लगायतको बिउ भारतबाट आयात हुन्छ। तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ। अहिले गहुँ लगाउने सिजन हो। भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहका अनुसार नेपाली गहुँको बिउ भारतमा अत्याधिक माग छ। ‘नेपाली गहुँको बिउ गुणस्तरीय हुन्छ। त्यसकारण पनि भारतमा अत्याधिक माग छ’, उनले भने, ‘भारतमा गहुँको रोटी खाने संस्कार एकदम छ। त्यसकारण खेती पनि धेरै हुन्छ। नेपाली बिउको पनि माग छ।’
भारतबाट समेत गहुँको बिउको माग अधिक भएपछि झापाको गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले संचालन गरेको सामुदायिक बिउ प्रशोधन केन्द्रले अहिले धमाधम बिउ प्रशोधन गरिरहेको छ। गहुँको बिउको माग अत्याधिक भएका कारण अहिले बिउको बजारीकणको काम भइरहेको सामुदायिक बिउ प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताए।
‘अरू बिउ भारतबाट आउँछ। तर, गहुँको बिउ भारतमा जाने भएकाले पनि माग उच्च छ’, उनले भने, ‘अब केही दिनभित्रमा बिउ निर्यात गर्नुपर्छ। त्यसकारण पनि अहिले प्रशोधन गर्न भ्याइनभ्याइ छ।’
बिउ प्रशोधन केन्द्रले यो वर्ष विजय, गौतम, एनएल र आदित्य प्रजातिका एक सय मेट्रिकटन बिउ प्रशोधन गरेको उनले बताए। यद्यपि, झापामा भने गहुँको खेती बर्सेनि घट्दै गएको छ। किसानहरूले पनि भारतमा बिउको माग भएकाले बिउका लागि मात्र गहुँको खेती गर्ने गरेको नमुना एकीकृत खेती गौरादहका अध्यक्ष बेधनिधि चापागाईंले बताए।
‘अहिले झापामा गहुँ खेती हुँदैन भन्ने अवस्था आउन लागेको छ। पहिला हामीले १५ बिघासम्म गहुँ खेती गर्थ्याैं’, उनले भने, ‘अहिले बिउ उत्पादनका लागि मात्र गर्दैछौँ। कृषि अनुसन्धान केन्द्र तरहराले बिउ दिएका कारण मात्र यो पनि गरेका हौँ नभए गरिँदैन थियो।’ कृषिज्ञान केन्द्र झापाका अनुसार जिल्लाको गौरादह क्षेत्रमा धेरै गहुँ उत्पादन हुँदै आएको छ।
ज्ञान केन्द्रका अनुसार झापामा अघिल्लो वर्ष सात हजार १२५ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएको थियो। जसमा साढे २० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ। खेती घट्दै गएपछि बिउ उत्पादनमा समेत गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ। गहुँमा भन्दा अन्य खेती बालीमा राम्रो आम्दानी हुने भएकाले पनि गहुँ खेती विस्थापिन हुँदै गएको छ।
‘गहुँ लगाउने उपयुक्त समय कात्तिकदेखि मंसिर पहिलो साता हो। गहुँ चार महिनामा पाक्छ। यो समयमा धान र मकै पनि हुन्छ। सबै ठाउँमा सिँचाइ सुविधा पुगेपछि झापामा हिउँदमा पनि धान नै उत्पादन हुँदै आएको छ, कि धान कि त हिउँदमा कृषकले मकै लगाउँछन्’, ज्ञान केन्द्र प्रमुख सिंहले भने, ‘नेपालमा रोटी खाने संस्कार पनि खासै छैन। त्यसकारण पनि गहुँको उत्पादन कम भएको हुन सक्छ।’































प्रतिक्रिया