यस्ताे छ १४ वर्ष दुबई बसेर फर्किएका भुवनसिंहकाे च्याउ खेती

यस्ताे छ १४ वर्ष दुबई बसेर फर्किएका भुवनसिंहकाे च्याउ खेती

केन्द्रबिन्दु
0
Shares

वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवाहरू रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश। धेरै युवाहरू म्यानपावर कम्पनीले प्रतिबद्धता गरेविपरीत काम गर्न बाध्य बन्दै आएका छन्। गाउँमै केही व्यवसाय सञ्चालन गरी रोजगार बन्ने वातावरण नभइपछि विदेशिनु युवाहरूको बाध्यता नै बनेको छ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन्। विदेशबाट फर्केर यहीँ नेपालमा केही गर्छु भन्ने युवाहरूको संख्या कमै छ। गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ। तर, तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू भने गाउँमै रमाउन थालेका छन्।  

वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बूले अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन्। १० लाख लगानीमा उनले खेती सुरु गरेका हुन्। २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी २०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए। १४ वर्ष दुबई बिताएका लिम्बूको जुन सोचले विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन्। 

‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए । 

बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन्। लिम्बूले फेदाप तिनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन्। 

तीन रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन्।  काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन्। 

स्थानीयस्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन्। यो खेती सुरुवातमै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन्। यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए। 

लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन्। प्रतिकिलो ६०० रुपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ। ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्न सकिएको छैन। लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने। 

खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन्। लगनशील भएर गाउँमै व्यवसायिक बन्ने हो भन्ने रोजगारको लागि भौँतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले।

Skip This
Skip This
Logo