राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको छ।
मङ्सिर ३ गतेदेखि सुरु भएको नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगितामा राष्ट्रिय अभिलेखालयले पनि एउटा कक्ष लिएर ऐतिहासिक अभिलेखका सामग्री प्रदर्शनीमा राखेको हो। प्रदर्शनीमा १५औँ शताब्दीमा लेखिएको भागवतपुराण, नेपाल संवत् २९० मा लेखिएको शिवधर्म ग्रन्थको गाताचित्रलगायत सामग्री विशेष आकर्षणका रुपमा रहेका छन्।
शिवधर्म ग्रन्थको गाताचित्र चोरी भई अमेरिका पुगेकामा सन् २०१३ मा नेपाललाई फिर्ता गरिएको थियो। नेपाल सम्वत् ७८७ मा मैथिली लिपिमा लेखिएको पौराणिक ग्रन्थमा रहेको गाताचित्र, नेपाल संवत् ८३८ को योग विषयको सिद्धसिद्धान्त पद्धति पुस्तकको गाताचित्रलगायत महत्वपूर्ण दस्तावेज प्रदर्शनीमा राखिएको छ।
प्रदर्शनीमा अभिलेखालयले प्रकाशन गरेका पुस्तक, वार्षिक मुखपत्र अभिलेखका विभिन्न अङ्क बिक्रीमा समेत राखिएको निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए। प्रदर्शनीमा ऐतिहासिक अभिलेख हेर्ने र पुस्तक किन्न अवलोकनकर्ताको रुचि बढेको पाइएको उनले सुनाए। आजसम्म चल्ने व्यापार मेलामा तीन लाखभन्दा बढीले अवलोकन गरिसकेको महासङ्घले जनाएको छ। आज बेलुकीसम्म पाँच लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।
मेलामा नेपाली मौलिक हस्तकलाका सामग्री खरिदमा पनि अवलोकनकर्ताको रुचि बढेको पाइएको छ। कोरोना महामारीका कारण गत वर्ष हुन नसकेकाले पनि यस वर्ष मेलामा अवलोकनकर्ता बढी आएका छन्। मेलामा हस्तकलाका रु पाँच करोडभन्दा बढीको सामग्री बिक्री हुने महासङ्घको अनुमान छ।































प्रतिक्रिया