एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ जित्न सफल भएको हो। 

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका थिए। वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ। 

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो। एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधा अन्तर्गत जितेको हो।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वर्ल्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो। यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरु  एसोसीओ अवार्डबाट सम्मानित भएका थिए।

“१०० भन्दा बढी योग्य, नवीन तथा राम्रा आवेदनहरुको समीक्षा गर्ने हामीले मौका पायौं ।” विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघसंस्थाहरुको छाता संगठन विट्साका सेक्रेटरी जनरल जीम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने। “इनोभेटिभ इ–हेल्थ सोलुसन्स् अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ। दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरुको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो।”

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो। यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरि सकिएको छ। यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन्। 

कार्यक्रममा पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो। जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने हाम्रो योजना रहेको छ।”

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, सोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको छ। यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ।

Skip This
Skip This
Logo