नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स सम्झौता सम्पन्न

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स सम्झौता सम्पन्न


नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिट्यान्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन्। रेमिट्यान्स गर्ने बित्तिकै नेपालभरका १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्नेछन्। ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिनेछ।

बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरुका लागि विशेष विशेषतासहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधासहितका विस्तारित सेवाहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले आफ्नो रेमिट्यान्स सहयोग केन्द्रमार्फत् सबै रेमिट्यान्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धी सहयोगसमेत प्रदान गर्नेछ।

साझेदारी सम्झौता हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाको बारेमा उल्लेख गरे। उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरु दुवैले विशेष जोड दिए।

विदेशबाट फर्किने कामदारहरुका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरु मार्फत् विदेशबाट रकम पठाउन कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिइयो। 

Logo