बङ्गलादेशबाट रासायनिक मल ल्याउन भारतले सहयोग गर्ने

बङ्गलादेशबाट रासायनिक मल ल्याउन भारतले सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बङ्गलादेशबाट रासायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने भएको छ । आज कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताएका हुन् । उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधैं तयार रहेको बताएका थिए ।

छलफलमा द्विपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए।

ढुवानीका लागि बोलपत्र आह्वान

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ । मन्त्रालयले अनुमति दिएसँगै कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ । गत शनिबार बोलपत्र आह्वान भएको प्रवक्ता केसीले जानकारी दिए।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो । किसानको माग अनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो । सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो ।

Skip This
Skip This
Logo