बाहिर हल्ला भए जस्तो अर्थतन्त्रमा समस्या आएको छैनः गभर्नर अधिकारी (भिडियोसहित)

बाहिर हल्ला भए जस्तो अर्थतन्त्रमा समस्या आएको छैनः गभर्नर अधिकारी (भिडियोसहित)


पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुखतिर ओरालो लाग्दै गएको छ। मुलुकको अर्थतन्त्र संकट उन्मुखतिर ओरालो लागेको राष्ट्र बैंकको पछिल्लो वित्तीय तथ्याङ्कका सूचकहरुले पनि देखिएका छन् । 

चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ। बजारमा तरलता अभाव हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्याधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ। यसरी मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको र बजारमा तरलता अभाव झेलिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर माहाप्रसाद अधिकारीले केही दिन अगाडि आर्थिक पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’ को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खोजेका थिए । गभर्नर अधिकारीको बैंकहरुको ‘लिभरेज रेसियो’ को विषयले बजारमा अर्को तरङ्ग पैदा भएको छ । 

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा कुनै समस्या छैनन् भन्न बैंकहरुको ‘लिभरेज रेसियो’ देखाएको भन्ने प्रश्न उठ्न थालेको छ । गभर्नर अधिकारीले उक्त कार्यक्रममा ‘बासेल–३ कार्यान्वयनमा २, ३ आउँदा लिभरेज रेसियो भएको बताए। 

उनले भने, 'बासेल–३ कार्यान्वयनका बेला अर्थात  ५ वर्ष पहिला महत्वपूर्ण मानिएको लिभरेज रेसियो मुस्किलले ९ गुणामा थियो, अहिले १७ गुणामा चलेको छ, यो महत्वपूर्ण कुरा कसैले हेर्नु भएकै छैन । हामीले यस्ता सकारात्मक कुराहरु पनि हेर्नुपर्छ । बैंकहरुको  सीसीडी रेसियो ८० प्रतिशतको व्यवस्था निकै अघिदेखि रहँदै आएको हो । गत साल कोभिडको बेला ८५ प्रतिशत पुर्याएको थियो । हामीले सीसीडी हटाएर सीडी ल्याउनुको पछाडि कारण लिभरेज जुन छ त्यो रेसियोको इन्डिकेसन हामीले अगाडिबाट हेर्दै गर्दा ठाउँमा राख्नुपर्छ भनेर ल्याएको हो । सिसिडी खारेज गरेर सिडी रेसियो नल्याएको भए अझ समस्या ल्याउने देखियो । राष्ट्र बैंकले सीसीडी दैनिक अपडेट गरिरहेको छ। बैंकले सम्पूर्ण सूचना वेवसाइटमा राखेको छ । ९१ प्रतिशत सीसीडी पाउन सकिन्छ । ८५ बाट ९१ प्रतिशत हुँदाखेरी ६ प्रतिशत ‘ननकम्लायन्स’ बैंकको रेट पाइन्छ । त्यो भने कम्लाई गर्नुपर्ने विषय थियो । तर, ९० हुँदा ९१ हुँदा २ प्रतिशत मात्रै ‘ननकम्लाइन्स’ पाइन्छ । त्यसमा हामीले ‘ननकम्लाइन्स’ भनेको छैन । हामीले असारमा मात्रै गएर ‘ननकम्लाइन्स’ भन्छौं । यसले गर्दा बैंकिङ क्षेत्र सजिलो अवस्थामा बस्नुपर्छ । तर, किन बजारमा अर्कै खालको क्यान्सर आइरहेको छ । मैले बुझ्नसकेको छैन । तरलतामा कर्जाप्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’

तर, गभर्नर अधिकारीले पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा मात्रै लिभरेज रेसियो कुरा राख्नु अर्थतन्त्र राम्रो देखाउनको लागि मात्रै भएको हो की भन्ने बाहिर चर्चा भएको छ । गभर्नर अधिकारीले ठिक १४ दिन अगाडि मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेनन् । समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको कुरा किन नउठाएर पत्रकारहरुसँग मात्रै उठाए। यो विषय पनि गम्भिर रुपमा उठ्न थालेको छ । गभर्नर अधिकारीले अर्थ समितिमा बजारको तरलताको विषयमा बोल्दै चालु आर्थिक वर्षको सुरुवातदेखि तरलतामा चाप परेको बताएका थिए। उनले बैंकिङ प्रणाली मार्फत चार सय ११ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्बले मात्रै बढेको बताएका थिए। कर्जा प्रवाह र निक्षेपबीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राईभ अफ हुने स्थिति देखिएको उनको भनाइ थियो । 

उनले भनेका थिए,‘साउन महिनादेखि मंसिरसम्ममा ४११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ । यसरी प्रवाह भएको पैसा सबै देश बाहिर गयो । देशभित्र नै रहेको हुने थियो भने अहिलेको अवस्था आउने थिएन। अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको देखिन्छ ।’

तर यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरे । उनले राष्ट्र बैंकले अहिले कै अवस्थामा लिभरेज रेसियोसँग जोड्नु पर्ने अवस्था नआएको बताए । पूर्वगभर्नर नेपालले बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको बताए । उनले बाहिर अर्थतन्त्र संकट उन्मुख रहेको हल्ला चलाउँदा स्पष्ट रुपमा बताउन खोज्नु राम्रो भएको तर बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन राजनीतिक दबाव हो कि भन्ने बुझ्नु पर्ने बताए । 

नेपालको अर्थतन्त्र संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नु पर्ने उनको भनाइ थियो । उनले यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक भएको बताए। नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स घट्यो, पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प सोच्नु पर्ने हुन्छ तर बैंकहरुको लिभरेज रेसियो देखाएर अर्थतन्त्रका सूचक राम्रो देखाउनु आवश्यक नभएको बताए । गभर्नर अधिकारीले लिभरेज रेसियोको कुरा बाहिर ल्याउनु बासेल थ्रि प्रयोग गर्न खोजेको बताए । 

पूर्वगभर्नर नेपालले मुलुकको पछिल्लो अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस नै भएको अवस्था नभएको बताए। उनले अहिलेको तरलता लगायत अन्य समस्याले मूल्य वृद्धि बढ्ने देखिएको भन्दै विगतमा पनि अर्थतन्त्रका सूचक अहिलेको जस्तै हुने गरेको उल्लेख गरे। नेपालले अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिती घटेको र अहिलेको अर्थतन्त्रको अवस्थाले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भने ठूलो चूनौती रहेको बताए।

Logo