सरकारद्वारा चालु आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर

सरकारद्वारा चालु आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर


पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ। विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो। 

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ। 

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ। यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ। यस्तै भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ। 

साउनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ। यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ। 

यसैगरी कात्तिक महिनामा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। 

Logo