जनसेवा सहकारी आयमुलक काममा लगानी गर्दै, कारोबार रकम ६ करोड ९७ लाख

जनसेवा सहकारी आयमुलक काममा लगानी गर्दै, कारोबार रकम ६ करोड ९७ लाख


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार करिब ७ करोड पुगेको छ। २५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जानकारी दिएको हाे।

बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जिविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा १ करोड बढी निक्षेप संकलन गरेको हो।

आर्थिक वर्ष २०७६/०७७ मा ४४ लाख १० हजार ५५० सेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७/०७८ मा ६३ लाख ४३ हजार ६५० सेयर वृद्धि उपलव्धी भएको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए। 

आर्थिक वर्ष २०७६/०७७ मा सेयर लाभांश ७ लाख २३ हजार ३१ रुपैयाँ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा १० लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको जानकारी दिएको छ । साधारणसभा एवं अधिवेशनले लेखा परिक्षण, आर्थिक प्रतिबेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पास गरेको छ।

सहकारीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा शेयर पुँजी १ करोड पुर्‍याउने, ऋण लिएका प्रत्येक ऋणि सेयर सदस्यको एक वर्षे दुर्घटना बीमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने ऋणीहरुलाई सोको बीमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ।

कार्यालयमा सञ्चित एवं स्थानान्तरणको जोखिम अनुसार नगद बीमा गर्ने, कुल बचत ४ करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै ६ करोड २८ लाख ८३ हजार १४१ पुर्‍याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी १५ हजारबाट २० हजार पुर्‍याउने योजना बनाइएको सहकारीले जनाएको छ।

सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ र १२ तथा रावाबेँसी गाउँपालिका-६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका १ हजार ४६८ सेयर सदस्य छन्।

Logo