अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा मंगलबार आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन्।
आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरे। “आर्थिक वर्षको ६ महिना बितिसक्यो। बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ”, उनले भने । मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपाय खोज्ने उल्लेख गर्दै उनले जसरी पनि खर्च बढाउन आग्रह गरे।
ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनु पर्नेमा उनले जोड दिए। ठूला योजनामा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने मन्त्री शर्माको भनाइ थियो। विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए। फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै मन्त्री शर्माले डिजिटल माध्यममा लैजानुपर्नेमा जोड दिए।
“फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई, चार दिन जान्छ। यहाँ पनि समय गइरहेको छ”, उनले भने, “यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृत गर्ने हुनुपर्यो।” पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ।
यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत बराबर भएको छ। समग्रमा हालसम्ममा २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ।































प्रतिक्रिया