बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग

बजारमा नक्कली मह, बल्ल सचेत गराउँदै खाद्य विभाग


चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ ।

मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन । 

तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो। महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ।’

महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ। साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ। अनुज्ञापत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ। 

Logo