गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाई थियो। मलेसियामा उनले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गरेका थिए। होटल पनि सोचेभन्दा राम्रो चल्यो । दश वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति जाेडे।
होटल राम्रो चलेपछि एक्लैलाई धान्न मुस्किल भयो । श्रीमती सीतालाई पनि मलेसिया बोलाए । दुईजना भएर विदेशमा संघर्ष गर्दै थिए। एक दिन होटलमा जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटना भयो। नलबहादुर मोटरसाइकल हाँक्दै थिए । श्रीमती पछाडि थिइन् । बाटोमा कुकुरलाई जोगाउँदा उनीहरू दुर्घटनामा परे । नलबहादुरमाथि मोटरसाइकल भयो ।
उनको देब्रे खुट्टामा चोट पर्यो । चार महिना मलेसियामै उपचार गराउँदा पनि खुट्टा ठीक भएन । झन्-झन् सुनिँदै गयो । श्रीमतीलाई मलेसियामै छाडेर दश वर्षको मलेसिया बसाई टुंग्याउँदै नलबहादुर स्वदेश फर्किए। नेपाल फर्किएर ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार गराए । उपचारमा ६०-७० लाख बराबर खर्च भएको उनी बताउँछन्। जोडेकाे जग्गा उपचारमै सकियो । तर, खुट्टा राम्रो नभएपछि चार वर्ष मलेसिया बसेकी सीता पनि स्वदेश फर्किइन् ।
‘अर्काको देशमा खोलेको होटल म आएपछि चलाउन नसक्ने अवस्थामा पुग्यो । घर भाडा बढेको बढ्यै थियो । ६० लाखभन्दा धेरै लगानी गरेर खोलेको होटल छाडेर आयौँ,’ नलबहादुर भन्छन्, ‘नेपाल आएर पनि खुट्टा राम्रोसँग निको भएन । अझै पनि सुन्निएको छ। अब यतिकै चल्छ । मलेसियामा राम्रो उपचार नहुँदा ठीक भएन।’
नाै वर्षअघि नेपाल फर्किएका नलबहादुरले केही समय गौरादहमा सानो होटल चलाए । होटल पनि राम्रै चल्दै थियो। सब्जी पसलमा बेच्न ल्याएको च्याउले उनको ध्यान तान्यो। च्याउ बेच्न ल्याउन किसानसँग उनले सोधे- च्याउ उत्पादनमा कति खर्च आउँछ? एउटा पोकामा ६०/६२ रुपैयाँ खर्च आउँछ भन्ने जवाफ पाए। नाफा चाहिँ राम्रै हुने उत्तर पाए। उनलाई च्याउ खेती गर्न मन लाग्यो। कमाएको सम्पत्ति सबै खुट्टाको उपचारमा खर्च गरेका नलबहादुरसँग खेती सिक्न पैसा थिएन । अरूले गरेर च्याउ खेती हेर्दै उसलाई सघाउँदै च्याउ खेती गर्न सिके।
सुरुमा दुई धुर जग्गा भाडामा लिएर ८५ पोका च्याउ रोपे। जसमा खर्च आयो-१९९५ रुपैयाँ । त्यो लगानीले करिब ९० हजार रुपैयाँ कमाए। एकपटक काठमाडौं गएर उपचार पनि गरे। च्याउ खेतीमा राम्रो आम्दानी देखेपछि उनले खेती विस्तारको योजना बनाए। खुट्टा राम्रोसँग ठीक नभए पनि १८ घण्टा खटेर च्याउ उत्पादनमा लागे। अहिले च्याउ खेतीमा राम्रो सफलता पाएका छन्, नलबहादुरले।
दुई धुरबाट सुरु भएको उनको कृषि कर्म अहिले तीन बिघामा विस्तार भएको छ। गौरादह-४ मा तीन बिघा जमिन लिजमा लिएर उनी खेती गर्दै आएका छन्। एक बिघामा च्याउ खेती गर्छन् भने बाँकी जमिनमा सब्जी, धान लगायतका खेती गर्दै आएका छन् । उनले जमिनको भाडाबापत वाार्षिक एक लाख बुझाउँछन् । दुई छोरालाई च्याउ खेतीबाटै पढाएको उनी बताउँछन् । ‘यो पेसामा खट्नु चाहिँ साह्रै पर्छ । मेरो खुट्टा यस्तो हुँदा पनि दैनिक १८ घन्टा खट्छु । दुई घन्टा काम गरेर आधा घन्टा रेस्ट गरिनँ भने खुट्टाले काम गर्न निकै मुस्किल पर्छ। अहिले पनि खुट्टा सुनिएको छ,’ नलबहादुर भन्छन् ।
श्रीमतीकै नाममा सीता च्याउ उद्योग दर्ता गरेका छन्, नलबहादुरले । श्रीमती पनि श्रीमानसँगै च्याउ खेतीमा खटिन्छिन् । ‘सिजनमा च्याउ टिप्न साँझ ७ बजे छिर्छौँ । बिहान ४ बजेमात्र निस्कन्छौँ । मिहिनेत धेरै गर्नुपर्छ । तर, सन्तुष्ट छौँ,’ सीता भन्छिन् । उनको परिवारबाहेक अन्य चारजनालाई दैनिक काम दिएका छन् । सिजनमा दैनिक ४० जनासम्मले प्रत्यक्ष अप्रत्यक्ष काम पाएको नलबहादुर बताउँछन् ।
खुट्टाका कारण पानी जमेको ठाउँमा जान उनलाई मुस्किल हुन्छ। च्याउको पोका राखेको टनेलमा पानी हुन्छ। उनी टिप्ने काम गर्दैनन् । केलाउन सघाउने गरेको उनी बताउँछन्। दैनिक ६ सयदेखि आठ सय केजीसम्म च्याउ टिपरे बजारमा पठाउने गरेको नलबहादुर बताउँछन्। ‘रातभर टिपेर, केलाएर, जोखेर ठिक्क पर्छौँ। बिहान डिलरको गाडी आएर च्याउ लैजान्छ,’ उनी भन्छन्।
१९ सय ९५ रुपैयाँबाट सुरु भएको उनको च्याउ खेतीमा अहिले एक करोड लगानी पुगेको उनको दाबी छ । वार्षिक करोडको कारोबार च्याउ खेतीबाटै गर्छन्, नलबहादुर। ‘नेपालमै केही गर्न सके राम्रो हुन्छ । म त अहिले सन्तुष्ट छु । खुट्टाका कारण विदेशमा कमाएको सबै सकेर उल्टै ७-८ लाख ऋण गरेर आएको हुँ। अहिले जग्गा पनि जोडेँ,’ उनी भन्छन्, ‘केही ऋण त छ। तर, सामान्य पैसा चलाउन समस्या छैन । गर्न सके नेपालमै केही हुन्छ भन्ने प्रमाणित गरेको छु।’
तर, कृषि क्षेत्रमा कामदार पाउन निकै मुस्किल हुने उनी बताउँछन्। ‘भन्नचाहिँ काम पाइनौँ, रोजगारी छैन भन्छन् । तर, हामीलाई कामदार पाउनै मुस्किल हुन्छ,’ नलबहादुर भन्छन् । कृषि पेसामा केही गरौँ भनेर लागेका नलबहादुरले कृषि ज्ञानकेन्द्रमार्फत केही अनुदान त पाए तर स्थानीय सरकारबाट प्रोत्साहसम्म नभएको उनी बताउँछन् ।
‘यस्तो शारीरिक अवस्था हुँदा पनि खटिएर कृषि पेशामा लागेको छु। तर, स्थानीय तहले वास्तै गर्दैन। अन्य स्थानीय तहले किसानलाई प्राेत्साहन गरेको समाचार सुन्छु । तर, गौरादहमा यस्तो छैन,’ उनी भन्छन्, ‘प्रोत्साहन भए काम गर्न थप ऊर्जा मिल्ने थियो ।’ कृषकलाई बैंकले पनि सहज लगानी नगरेको उनको गुनासो छ।न्युज कारखाना





























प्रतिक्रिया