लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई १० हजारका दरले जरिवाना गरिएको हाे।
यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ छन्।
बीमा ऐन, २०४९ अनुसार बीमा कम्पनीले आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सो को प्रतिवेदन प्रत्येक आव सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ। ती बीमा कम्पनीले यही व्यवस्थाको बर्खीलाप गरेको पाइएको छ।





























प्रतिक्रिया