दोस्रो बजारमा शेयर कारोबार गर्न ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) लिनेको संख्या १३ लाख नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघ १९ गतेसम्म टीएमएस लिनेको संख्या १३ लाख ८८२ पुगेको हो।
चालू आवको ७ महिनाको अवधिमा ५ लाख ८९ जनाले दोस्रो बजारमा शेयर कारोबार गर्न टीएमएस लिएका छन् । गत आव २०७७/७८ मा मात्र दोस्रो बजारमा अनलाइनबाट शेयर कारोबार गर्नका लागि ७ लाख ६४ हजार ८७४ नयाँ लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका थिए।
गत आवको अन्त्यसम्ममा ७ लाख ९९ हजार ९९३ जनाले टीएमएस लिएका नेप्सेले जानकारी दिएको छ। आर्थिक वर्ष २०७६/७७ को अन्तिम दिनसम्म ३५ हजार ११९ ले दोस्रो बजारमा अनलाइनबाट शेयर कारोबार गर्न युजर नेम र पासवर्ड लिएको नेप्सेले जानकारी दिएको छ।
नेप्सेले २०७४ कात्तिक २० गतेबाट शेयर कारोबारमा अनलाइन प्रणाली लागू गरेको थियो । सोही अनुरुम नेपाल धितोपत्र बोर्डले ०७५ साउन १ गतेदेखि अनलाइनबाट शेयर किनबेच गर्ने नियम लागू गरेको हो। उक्त नियम लागू भएदेखि लगानीकर्ता अनलाइनबाट नै शेयर किनबेच गर्न थालेका छन्।
त्यसैगरि हालसम्म प्राथमिक बजारमा शेयर खरिद गर्न डिम्याट खाता खोल्नेको संख्या ४८ लाख ९५ हजार २१ पुगेको छ।































प्रतिक्रिया