१७४ श्रमिक रोजगारीका लागि सोमबार कोरिया गए

१७४ श्रमिक रोजगारीका लागि सोमबार कोरिया गए


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन्। 

कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)का नेपाल प्रतिनिधि किम उन डकसँग मन्त्रालयमा भएको भेटमा उनले इपिएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरि दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरु रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे। 

मन्त्री श्रेष्ठले व्यवसायिक उडान खुला गरि छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे। अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकामा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन्। 

भेटमा एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा फैलिरहेको बताएका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ।

विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए। व्यवसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वाससमेत दिलाए। 

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकामा हालै पुनः खुला गरिएको थियो। करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकामा कोरोना सङ्क्रमणपछि ९८४ जना मात्र गएका छन् भने साेमबार थप १७४ जना गएका छन् । मार्च १६ गते १७० जना जानेछन् । 

Logo