यामाहा मोटर्स इण्डियाले सन् २०२५ सम्ममा भारतीय बजारमा आफ्नो हिस्सालाई दोब्बरले बृद्धि गर्ने योजना बनाएको छ। जसका लागि उसले आगामी दिनहरुमा १२५ देखि १५० सिसी क्षमतासम्मका स्कुटर र १५० देखि २५० सिसी क्षमतासम्मका नयाँ प्रविधिमा आधारित मोटरसाइकलको उत्पादनमा बढी जोड दिने बताएको छ।
कम्पनीका चेयरम्यान इसिन चिहानाका अनुसार उक्त योजना पुरा गर्न कम्पनीले उत्पादन क्षमतामा बृद्धि गर्दै जानेछ। ‘उत्पादनमा समस्या आउन नदिनका लागि हामीले अहिले महंगो मूल्य तिरेरै भएपनि सेमिकन्डक्टर खरिद गरिरहेका छौं। यसले हाम्रा डिलरहरुलाई मोटरसाइकल र स्कुटरको अभाव हुन दिने छैन’ उनले भने ।
यामाहाले अघिल्लो वर्ष कुल ५ लाख २२ हजार युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्दै जम्मा ३.६ प्रतिशत बजार हिस्सा कायम गरेको थियो। जापनिज अटोमेकर यो कम्पनीले ‘मास प्रोडक्सन’ भन्दा माथि राखेर प्रिमियम रेन्जका प्रोडक्टमा फोकस हुने कारण हिरो, टिभिएस, बजाज र होन्डा भन्दा आफू अलग्गै रहेको दाबी गर्दै आइरहेको छ। इलेक्ट्रिक टु ह्विलरका विषयमा समेत आफूहरुले सम्भाव्यता अध्ययन गरिरहेको चिहानाले बताए ।
यामाहाले पछिल्लो समय लन्च गरेको चौंथो जेनेरेशन आर १५ र एरोक्स १५५ सहित फेसिनो र रे जेडआरको हाइब्रिड भर्सन अहिले भारतीय बजारमा सफल भैरहेको छ। उसले अबको केही समयभित्रै एमटी १५ को अपडेटेड भर्सन र नयाँ मोटरसाइकल एक्सएसआर १५५ लन्च गर्ने तयारी गरिरहेको जनाएकाे छ।





























प्रतिक्रिया