ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन

ऊर्जामन्त्रीद्वारा न्यू बुटवल-२२० केभी सबस्टेसनको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ। ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरिन् ।

मुलुकभित्र उत्पादित विद्युतकाे आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो। 

मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मकरुपमा अगाडि बढिरहेको बताइन्।

रसिया र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमासमेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन्।

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए। 

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिँदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताइन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३/११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए। उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी करिडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। 

नेपाल सरकारको लगानी, नर्वेको अनुदान र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा सबस्टेसनको निर्माण गरिएको हो। सबस्टेसन निर्माणका लागि ८ नोभेम्बर २०१७ मा एक अर्ब आठ करोड रुपैयाँमा टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग ठेक्का सम्झौता भएको थियो।

Logo