गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न मन्त्रालय सक्रिय छः अर्थमन्त्री शर्मा

गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न मन्त्रालय सक्रिय छः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले उद्योगलाई दिने कर्जाको ब्याजदर आधारदरमा दुई प्रतिशतभन्दा बढी हुन नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको पनि स्पष्ट पारे । 

पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए । मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताए । उनले उद्योग व्यवसायहरुलाई विकास गर्नका लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरि सरकारले नीति बनाउने बताए । उनले आयात प्रतिस्थापनका लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताए । अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गरे । उनले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने विश्वास दिलाए ।

अर्थमन्त्री शर्माले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहजरुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताए । उनले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु गरिएको बताए ।

मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताए ।

Logo