‘चटपटे बेचेरै मासिक एक लाख कमाउँछन् सिवाकोटी दम्पती’

‘चटपटे बेचेरै मासिक एक लाख कमाउँछन् सिवाकोटी दम्पती’


चटपटे भन्ने वित्तिकै सबैको मुख नै रसाउने गर्छ । केटाकेटीदेखि बुढाबुढीसम्मले चटपटे स्वादका साथ खाने गर्छन् । अझ युवायुवतीले त खानाको सट्टा नै चटपटे पनि खाने गरेका छन् । सामान्य चटपटे त सबैलाई थाहा नै छ होला । तर के तपाइँले कहिले खानु भएको छ रमपम चटपटे ? रमपम चटपटे भनेर भुजामा रमपम चाउचाउ हालेर हैन रमपमको छुट्टै चटपटे । आज हामीले यस्तै चटपटे बेचेर जीवन चलाउँदै आएका एक दम्पतीको सफलताको कथा लिएर आएका छौं ।

काठमाडौँको नयाँ बानेश्वर र पुरानो बानेश्वरको विचमा ५५ वर्षिय कृष्णप्रसाद सिवाकोटी र उनकी पत्नीले रमपम चटपटे बनाएर बेच्दै आएका छन् । दोलखा घर भएका सिवाकोटी दम्पती विगत १७ वर्षदेखि विद्यालयको छेउमा रमपम चटपटे वेच्दै आएका छन् । उनको रमपम चटपटे खान टाढा टाढाबाट मानिस आउने गर्छन् । सिवाकोटी पहिले ठेलामा एक्लै चटपटे व्यापार गर्थे भने अहिले उनलाई छेउमा श्रीमतीले पनि सघाइरहेकी छिन् । 

उनीहरुले चटपटे नै बेचेर ३ जना छोराछोरीलाई डिग्रीसम्म पढाएका छन् । उनका २ छोरा काम गर्न थालिसकेका छन् भने छोरी अझै पढ्दैछिन् । उनका छोराले काम गर्न थालेर पनि उनलाई निकै सहज भएको सिवाकोटी बताउँछन् । 

सिवाकोटी भन्छन्, “म पहिले यही विद्यालयको छेउमा गाडामा राखेर भुजाको चटपटे बेच्थेँ, यही बेचेर ३ जना छोराछोरी पढाएँ । श्रीमतीले पनि सानोतिनो काम गर्थिन् । पछि म रमपमको मात्र चटपटे बनाउने सोच आयो त्यसपछि यही काम गर्न थालेँ । अहिले २ छोराले काम गर्न थालिसके निकै सहज भएको छ ।” 

सिवाकोटी दम्पती घरको काम सबै सकेर खाना खाएर बिहान १० बजे पसलतिर लाग्छन् । उनको पसलमा १० बजेदेखि नै भिड हुने गर्छ । बेलुका भएपछि त फुर्सद नै मिल्दैन । सिवाकोटी भन्छन्, “हामी विहान १० बजेदेखि नै भिड हुन्छ । वेलुका ८ बजे बन्द गर्ने भनिए पनि साढे ९, १० बजिहाल्छ । दिउँसो पनि निकै भीड हुन्छ । विद्यायल छेउ भएर पनि होला दिउँसो बढि विद्यार्थीहरु आउँछन् । विद्यार्थीको टिफिन टाइममा त फुर्सद नै मिल्दैन ।”

सिवाकोटीले यो अवस्थामा आउन मिहेनत नगरेका चाहीँ होइनन् । उनीहरुले पहिले होटलसमेत सञ्चालन गरे । तर होटलमा राम्रो आम्दानी तथा सधैं घाटामा गएपछि उनीहरुले होटल पनि बेचिदिए। अहिले उनीहरु महिनामा झन्डै १ लाख रुपैयाँ कमाउँछन् । उनी भन्छन्, “यो एउटा रुमको मात्र १५ हजार भाडा छ, फोहोरको छुट्टै दिनुपर्छ ।”

काठमाडौँमा उनीहरुको आफ्नै घर छैन । सिवाकोटीको परिवार कात्यनी चोकमा कोठा भाडामा लिएर बस्दै आएको छ । उनी भन्छन्, “काठमाडौँमा हाम्रो आफ्नो घर छैन, तर घर नभए पनि मज्जाले खान लाउन पुगेको छ ।”

उनी हास्दै थप्छन्, “छोराछोरी नभएका भए र उनीहरुलाई शिक्षा दिक्षा दिनु नपरेको भए यतिबेलासम्म घर नै भैसक्थ्यो होला । घर नभए पनि हामीलाई केहीको कमी छैन ।”

सुरुमा उनले रमपम बेच्दा २० रुपैयाँमै १ प्लेट दिन्थे भने अहिले ५० रुपैयाँको एक प्लेट दिन्छन् । उनी भन्छन्, “रमपम मात्र बेच्न थालेको १७ वर्ष भयो, सुरुमा २० रुपैयाँमा दिन्थे तर समय अनुसार भाउ पनि बढ्दै गयो । अहिले प्रतिप्लेट ५० रुपैयाँ लिन्छु। पहिले १ लिटर तेल ८० रुपैयाँमा पाइन्थ्यो भने अहिले ३ सय नभई तेल लिन नगए पनि हुन्छ। मसला पनि महँङ्गिदै गएको छ । जति कमाए पनि हिसाब गर्दैनौ । फाइनान्समा पनि जम्मा गर्छौं ।”

सिवाकोटीले यो अवस्थामा आउन मिहेनत नगरेका चाहीँ होइनन् । उनीहरुले पहिले होटलसमेत सञ्चालन गरे । तर होटलमा राम्रो आम्दानी तथा सधैं घाटामा गएपछि उनीहरुले होटल पनि बेचिदिए।

अब आउँदो बैशाख १ गतेदेखि प्रतिप्लेट १० रुपैयाँ बढाउने सोचमा रहेको सिवाकोटी बताउँछन् । उनले भने, “अहिले सबै सामानको भाउ बढेको हुनाले अब आउँदो बैशाख १ गतेदेखि १० रुपैयाँ बढाउने साँेचमा छु ।”

सिवाकोटीले बनाएको रमपम चटपटे एकदम स्वादिष्ट हुन्छ । उनी १७ वर्षदेखि छुट्टै खालको चटपटे बनाएर आफ्नो पहिचान बनाउन सफल भएका छन् । उनी चटपटे मात्र हैन स्वादिष्ट पानीपुरीसमेत बेच्दै आएका छन् । 

उनी अब पछिसम्म यहीँ काम गर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिला ठेलादेखि सुरु गरे, होटल पनि गरे तर पहिलाको भन्दा अहिले धेरै मानिस आउँछन् । गर्न सकुन्जेलसम्म यही काम गर्नेछु । सबैले मिठो मान्नुहुन्छ । प्रायजसो दिनहुँ आउने ग्राहक आउनुहुन्छ । विद्यार्थी पनि आउँछन् । शनिबार पनि धेरै बिक्री हुन्छ ।”

राजधानी छिरेपछि केही काम छैन र केही गर्न सकिँदैन भनेर विदेशिनेहरुका लागि एक उदाहरण बन्न सफल छन् सिवाकोटी दम्पती । थोरै पैसाले केही हुँदैन केही गर्न सकिँदैन भन्नेहरुका लागि हौसला जगाउन सफल छन् उनीहरु । देशमै रोजगारीको अवसरहरु पहिचान गरि कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिन्छ, काम गर्न उमेरले छेक्दैन । रोजगार भए फुर्सद बस्नु पर्दैन । विगतका दिनमा दुःख गरेता पनि अहिले उनीहरुलाई केही कुराको खाँचो छैन । 

Logo