मकै पोल्ने सुशीलाको गुनासो : ‘२० लाखको गाडीमा आउँछन्, २० रुपैयाँमा बार्गेनिङ गर्छन्’

मकै पोल्ने सुशीलाको गुनासो : ‘२० लाखको गाडीमा आउँछन्, २० रुपैयाँमा बार्गेनिङ गर्छन्’


परिश्रमी हातलाई उमेर र तातो घामले छेक्दैन । दिउँसो १२ बजेको घामको ताप एकातिर, अगाडिबाट आगोको राप अर्कातिर। शरीरभरि पसिना अनि हातमा चिम्टा । काठमाडौँको नयाँ बानेश्वरस्थित बिजुली बजारमा करिब १५ वर्षदेखि यसरी नै दैनिकी चल्दै आएको छ ५५ वर्षिया सुशीला बस्नेतको। उनले मकै बेच्न थालेको १५ वर्षभन्दा बढी भएको छ। 

आफ्नो छाक टार्नका लागि उनी न त घाम नै भन्न पाउँछिन् न त पानी । उनी विहान ४ बजे नै कालीमाटी पुग्छिन् मकै लिन । उनका ३ जना छोराछाेरी छन् । श्रीमानले एक महिना त काम गर्छन् तर फेरि एक महिना उनको आफ्नै ताल हुन्छ । उनले मकै बेचेर नै आफ्ना छोराछोरी पढाइन्। उनी भन्छिन्, ‘मैले मकै बेचेर छोराछोरी पढाएँ, घरभाडा तिर्छु, खानलाई केही दुःख छैन माग्नु पर्दैन ।”

उनको ५ जनाको परिवार अनामनगरमा बस्दै आएका छन्। उनी, श्रीमान् र ३ जना छोराछोरी। दुई छाक खानलाउनका लागि पनि उनले दिनभरी चर्को घाममा मकै बेच्नै पर्ने हुन्छ। 

“बिहान ४ बजे नै उठेर कालीमाटीमा मकै लिन जानुपर्छ तीनकुनेमा पाईदैन ।” उनले भनिन् । उनलाई सडकको छेउमा आउँदा नचिन्ने कोही हुँदैनन् । भन्छिन्, “म यत्रो समय यहीँ बसेर पनि होला नचिन्ने कोहीँ छैनन् ।” यो ठाउँमा आउने वित्तिकै मकै बेच्ने आमा भनेर सबैले चिन्छन् ।”

तातो घाममा मकै पोलेर बेच्दा चिल्ला गाडीमा आउनेहरु २० रुपैयाँमा बार्गेनिङ गर्दा कसको मन चिसो नहोला ?

उनका श्रीमानले साथ नदिए पनि अब उनी कोहीसँग डर नलाग्ने बताउँछिन् । छोरा छोरीलाई आफूले सक्ने जति पढाएको उनी बताउँछिन् । उनले भनिन्, “पहिला पहिला केही काम नगर्दा सबैले हेप्थे, होच्याएर बोल्थे अहिले कसैको डर लाग्दैन, सकेको काम गर्छु। छोराछोरीलाई सक्ने जति पढाईदिइहालँे । अहिले दुई छोरा काम गर्दैछन् भने छोरी कक्षा दशमा पढ्दैछे।”

सुशीला काँचो मकै २० रुपैयाँ घोगो किनेर ल्याउँछिन् भने बेच्दा ३० रुपैयाँमा बेच्छिन् । तर २० रुपैयाँमा किनेर ल्याउँदा पनि हुने खाने, घर भएका चिल्ला गाडीमा आउँनेहरु नै मूल्यमा बार्गेनिङ गर्छन् । उनी भन्छिन्, “हेर्दा अलिक हुने खाने  जस्ता र गाडीमा आउनेहरु नै २० रुपैयाँको मकै १५ रुपैयाँमा आउँदैन भन्छन्, तर मैले घाटा खाएर कसरी दिनु ?”

भाडामा बस्दै आएकी सुशीला आफूहरु जस्ता काम गरिखाने, छाक टार्न गाह्रो हुने वर्गलाई सरकारले पनि सहयोग गरिदिए राम्रो हुने बताउँछिन् । उनी भन्छिन्, “म त काम गरिरहेकी छु भइरहेको छ । तर म जस्ता त कति छन् कति ? म जस्ता काम गर्ने र यसरी काम गरेर खाने, दिनभरीको छाक टार्ने वर्गलाई सरकारले पनि हेर्दिए राम्रो हुने थियो । सरकारले हामी जस्तालाई अहिलेसम्म कुनै राहत दिएको छैन ।”

सुशीला घामपानी नभनी काम गर्दा दिनको ७/८ सय रुपैयाँ कमाउँछिन् । उनको त्यति पैसा एक दिनको लागि ठिक्क हुन्छ । उनी भन्छिन्, “म दिनमा ७/८ सय रुपैयाँ कमाउँछु एक दिनलाई ठिक्क हुन्छ । बचाउनु त परैको कुरा।”

उनी मकै मात्र हैन छेउमा बदाम र पानीको बोतलसमेत बेच्छिन् । 

यसरी आफ्नो परिवारका सदस्यले कुनै सहयोग नगरे पनि उनी आफैँले केही काम गरेर महिलाले पनि आँट हिम्मतका साथ काम गर्न सक्ने स्पष्ट देखाएकी छिन् । परिवार पाल्नका लागि घामपानी नभनी काम गरेर आफ्नो दैनिकी चलाइरहेकी छिन् । सरकारले अति कम आयस्रोत भएका लागि लगानीमा सहुलियत ल्याइदिए सुशीला जस्ताको परिवार पाल्न खम्बा बनेकाहरुलाई आड दिने दरिलो आधार हुने थियो की।

Logo