फागुनमा वाणिज्य बैंकहरूद्वारा १५ अर्ब निक्षेप संकलन, १४ अर्ब ऋण प्रवाह

फागुनमा वाणिज्य बैंकहरूद्वारा १५ अर्ब निक्षेप संकलन, १४ अर्ब ऋण प्रवाह

केन्द्रबिन्दु
0
Shares

गत फागुन महिनामा वाणिज्य बैंकहरूले थप १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यस महिना कर्जा प्रवाह भने १४ अर्ब रुपैयाँ भएको छ। नेपाल बैंकर्स संघले दिएकाे पछिल्लो तथ्यांकमा साे कुरा उल्लेख छ। 

संघका अनुसार फागुन २७ गतेसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै ४१ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लाे महिना माघको अन्त्यसम्म वाणिज्य बैंकहरूमा ४३ खर्ब ११ अर्ब निक्षेप संकलन भएको तथ्यांक छ। साे अवधिमा कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रुपैयाँ भएको थियो।  

गत असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यस अवधिमा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। त्यस्तै पछिल्लो एक सातामा वाणिज्य बैंकहरूबाट १ अर्ब रुपैयाँले ऋण प्रवाह बढेको छ। निक्षेप संकलन भने २ अर्ब रुपैयाँले बढेको बैंकर्स संघले जनाएको छ। 

देशमा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ११ हजार २५५ 
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या ११ हजार २५५ पुगेकाे छ। चालू आर्थिक वर्षको माघ महिनासम्मकाे तथ्यांक अनुसार ११ हजार २५५ शाखा संख्या पुगेकाे हाे । 

नेपाल राष्ट्र बैंकका अनुसार हाल देशमा २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६६ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। कूल १२८ वटा बैंक तथा वित्तीय संस्थाहरुका शाखा संख्या ११ हजार २५५ पुगेको हो ।

०७७ असार मसान्तसम्ममा ९ हजार ७६५ शाखा संख्या रहेका थिए। ०७८ असार मसान्तमा यस्तो संख्या १० हजार ६८३ रहेको नेपाल राष्ट्र बैंककाे तथ्यांकमा उल्लेख छ। 

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको मात्र कुल शाखा संख्या ४ हजार ८६७ पुगेको छ। विकास बैंकका शाखा १ हजार ७२ वटा छन् । फाइनान्सका शाखा २५१ र लघुवित्त वित्तीय संस्थाहरुका शाखा संख्या ५ हजार ६५ पुगेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ।

तीन वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी 
देशका ७५३ वटा स्थानीय तहमध्ये ७५० स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुगेका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्मको राष्ट्र बैँकले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ स्थानीय तहमा बैंकिङ पहुँच पुग्न बाँकी छ।

बैंकिङ पहुँच पुग्न बाँकी स्थानीय तह मध्ये गाउँपालिकामा रहेका छन्। गत आर्थिक वर्षको पुससम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए भने यस वर्ष एउटा थपिएकाे छ।

हालसम्म पनि वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुबिभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका रहेका छन्।

२३९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् ०७८ माघ मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएकामा १७७ संस्थाको इजाजत खारेज भई ६२ संस्था कायम भएका छन्।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को सात महिनाको तथ्यांकमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा साे कुरा उल्लेख छ।

Skip This
Skip This
Logo