काठमाडौंको महँगीमा साग बेचेरै उदाहरण बनेकी गीता : कस्ता थिए संघर्षका दिनहरु?

काठमाडौंको महँगीमा साग बेचेरै उदाहरण बनेकी गीता : कस्ता थिए संघर्षका दिनहरु?


मानिसले काम गर्नु भनेकै दुई छाक खान र एक सरो लगाउनका लागि हो । त्यति दुई छाक खानको लागि कसैले धेरै नै दुःख गर्नुपर्ने हुन्छ भने कसैले सजिलै आर्जन गर्न सक्छन् । जागिर भएकाका लागि खानाको केही वास्ता लाग्दैन भने केही नहुने मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुका लागि भने छाक टार्न धौ धौ गर्नुपर्छ। कसैले केही न केही काम त गर्नै पर्ने हुन्छ। काठमाडौंको महँगीमा त यस्तो अवस्था धेरैलाई छ।

घर कसरी टार्ने भनेर चिन्ता परिवारमा सबैको हुनुपर्छ तर धेरै ठाउँमा पुरुषभन्दा पनि महिलाले नै बढी काम गरेका देखिन्छन् । घरायसी काममा भने महिलाकै भूमिका बढी देखिन्छ। 

यसैगरि करिब ६ वर्षदेखि नयाँ बानेश्वर र पुरानो बानेश्वरको बीचमा ४७ वर्षिया गीता थापा मगर साग बेच्दै आएकी छिन्। उनी दिनमा एक डोको साग ल्याएर विक्री गर्छिन् । उनी एक मुठो सागलाई ३० रुपैयाँमा विक्री गर्छिन्। साग बेच्दा उनलाई दिनको ३०० देखि ४०० रुपैयाँ नाफा आउँछ । उनलाई परिवार पाल्न  खासै गाह्रो नभए पनि एक दिनको नाफाले त्यो दिनको छाक टार्न र भोलिपल्ट फेरि साग किन्नका लागि पुग्छ। उनी भन्छिन्, “एक दिनको लागि नाफा आउँछ । फेरि ल्याउनका लागि पनि पुग्छ। बिहान त आउँदिन बेलुका मज्जाले विक्री हुन्छ ।” उनलाई काम गर्न श्रीमानले पनि साथ दिइरहेका छन् । कहिलेकाहीँ उनी नआउँदा पनि श्रीमानले साग बेच्न सहयोग गर्छन् । 

काभ्रे घर भएकी उनले सानै उमेरमा विवाह गरिन् । विवाह गरेर काठमाडौँ आएका उनीहरुले सुरुसुरुमा धेरै नै दुःख गर्नुपर्यो । तर पहिले दुःख भएतापनि पछि दुवै जनाले सानोतिनो काम गर्न थालेपछि सहज भयो। उनी भन्छिन्,“विवाह गरेर काठमाडौँ  आएपछि त पहिला पहिला दुःख गर्यौं तर अहिले सहज भएको छ। पहिला श्रीमान् मात्र काम गर्नुहुन्थ्यो। पछि पछि म पनि काम गर्न थालेँ ।”

उनको परिवार नयाँ बानेश्वरमा कोठा भाडा लिएर बस्दै आएको छ। परिवारमा उनीसहित श्रीमान् र २ जना छोराछोरी छन् । उनी बिहान उठेर मुलपानी साग लिन जान्छिन्। साग ल्याएरपछि अरु पनि काम गर्न जान्छिन् । उनी विहान र दिउँसो अन्तै काम गर्छिन् भने बेलुका बानेश्वरमा साग बेच्छिन्। उनका छोराछोरी पनि काम गरिरहेका छन् । उनले छोराछोरीलाई सकेको जति पढाइन्। उनी भन्छिन्, “जति काम गरे पनि पुग्दैन कोठा भाडा महँगो छ । घरका सबैजनाले सानोतिनो भए पनि काम गर्छौं। बिहान पनि साग त बिक्थ्यो होला तर म अन्तै काम गर्ने हुनाले भ्याउँदिन । बेलुका सबै विक्री हुन्छ ।”

उनले त्यही ठाउँमा साग बेच्न थालेको ६ वर्ष भयो । पहिला १० रुपैयाँमा एक मुठा दिन्थिन् भने अहिले २० रुपैयाँमा बेच्छिन्। भन्छिन्, ‘पहिला पहिला त साग सस्तो नै थियो ल्याउँदा पनि सस्तै पथ्र्यो । अहिले समयसँगै भाउ पनि बढ्दै गयो । ल्याउँदा नै २५ रुपैयाँमा ल्याउँछु । बेच्दा ३० रुपैयाँमा बेच्छु । धेरैजसो त्यही मूल्यमा लान्छन् केही नभनी कोही कोही घटाउन खोज्छन् तर म त्यही मूल्यमा दिन्छु ।” उनले रायो, तोरी, मेथी, चम्सुरको साग बेच्दै आएकी छिन् ।

संघर्ष नै जीवनको एक बाटो बनेर निरन्तर लाग्ने सफल हुन सक्छ । एउटा काम मात्र हैन बिहान उज्यालो भएदेखि आफ्नो घरको साथसाथै अरु काम पनि सजिलै गर्न सफल हुने एक उदाहरण हुन् उनी । गीता जस्ता धेरै छन् यहाँ । खानका लागि नै ज्याला मजदुरी गर्ने तर जति दुःख गरे पनि खुसीका साथ बस्दै आएकी छिन् ।

Logo