नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्र सहकार्य गरेर नेपाललाई श्रीलंका नभएर समृद्ध नेपाल बनाउनु पर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
मुलुकको अर्थतन्त्र बाहिर प्रचार भए जस्तो श्रीलंकाको जस्तै अवस्थामा नपुगेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ थियो । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि हामीसँग धेरै सम्भावना र उपायहरु रहेकाले सरकारले समाधान गर्ने तिर लाग्नु पर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘हामी अहिले नै श्रीलंका जस्तो अवस्थामा पुगेका छैनौं जस्तो लाग्छ । आम नागरिकले यो विषयमा चिन्ता व्यक्त गरेकाले सरकारले समाधानको बाटोमा काम गरेको होला भन्ने अपेक्षा हामीले लिएका छौं । हाम्रा सम्भावना, सुधार गर्न सक्ने ठाउँ र उपायहरु धेरै छन्। त्यसकारण हामी श्रीलंकाको बाटोमा जानु पर्दैन की भन्ने आत्मविस्वास रहेको छ। अहिले नै हामीले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर प्रचार गर्नु भन्दा कालोबादलभित्र चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न हामी सबै लाग्नु पर्छ। तर मेरो भनाइको आसय हाम्रो अर्थतन्त्र एकदमै सुरक्षित छ, सर्तकता अपनाउनु पर्दैन भन्ने चाँही पक्कै होइन। हरेक समस्याको पछाडि समाधान रहेकै हुन्छ । समस्याको पहिचान गरेर डिला नगरी हामीले श्रीलंका होइन नेपाल नै बन्छौं। समृद्ध नेपाल नै बन्छौं भन्ने विस्वास व्यक्त गर्न चाहान्छु।’
उपाध्यक्ष ढकालले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर प्रचार गर्नु भन्दा कालोबादल भित्र चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न लाग्नु पर्ने बताए। ढकालले नेपालको अर्थतन्त्र श्रीलंकाको अवस्थामा नभएको भन्नुको आशय भने मुलुकको अर्थतन्त्र एकदमै सुरक्षित छ, सर्तकता अपनाउनु पर्दैन भन्ने अवस्था नरहेको बताए।
वरिष्ठ उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालको धन्यवाद मन्तव्य (पूर्णपाठ)
यस सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्षज्यू,
प्रमुख अतिथि सम्माननीय सभामुखज्यू, माननीयज्यूहरु,
संवैधानिक अंगका प्रमुखज्यूहरु
राजनीतिक दलका नेताज्यूहरु
महामहिम राजदूतज्यूहरू,
वैदेशिक नियोग एवं अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिज्यूहरु
नेपाल सरकारका मुख्य सचिवज्यू,
सचिवज्यूहरु तथा उच्चपदस्थ अधिकारीज्यूहरु
वार्षिक साधारण सभामा भाग लिन आउनुभएका मुख्य प्रतिनिधि, प्रतिनिधिज्यूहरु,
सदस्य संघका संस्थाका अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु
उद्योगी व्यवसायी मित्रहरु, ट्रेड यूनियन महासंघका अध्यक्ष एवम् नेताज्यूहरु
समारोहमा पाल्नु भएका विशिष्ट अतिथिज्यूहरु
संचारकर्मी साथीहरु,
महिला तथा सज्जन वृन्द,
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यु सहित सम्पूर्ण उपस्थित अतिथिगणमा महासंघकातर्फबाट म हार्दिक आभार प्रकट गर्दछु।
आफ्नो अति व्यस्त कार्यतालिकाको बाबजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरि यस समारोहको समुद्घाटन सहित समारोहलाई सम्बोधन गर्दै निजी क्षेत्रलाई आफ्नो कर्मपथमा उत्साहका साथ लाग्ने प्रेरणा दिनु भएकोमा सम्माननीय सभामुखज्यूमा एफएनसीसीआई र मुलुकभरका उद्यमी व्यावसायीहरुकोतर्फबाट आभारसहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
यसैगरी समारोहमा गरिमा बढाई दिनु भएकोमा यहाँ उपस्थित सबै आदरणीय व्यक्तित्वहरुमा
विशेष धन्यवाद ज्ञापन गर्दछु ।
उपस्थित आदरणीय अतिथिज्यू हरु,
मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था एफएनसिसीआइकका हाम्रा आदरणीय अध्यक्षज्यूबाट स्वागत मन्तव्यकै क्रममा मुलुकको समग्र निजी क्षेत्रको धारणा प्रस्तुत भइसकेको छ । त्यसैक्रममा मुलुकको अर्थतन्त्रलाई संकटमा जान नदिनका लागि एफएनसीसीआईका तर्फबाट भएका सक्दो प्रयासहरुका वारेमा पनि उहाँको वक्तव्यमा आएको छ । तथापि, म यहाँहरुलाई संक्षिप्तमा केही कुरा राख्नेछु ।
हामी हाम्रै जीवनकालमा कहिल्यै कल्पना नगरिएका प्राकृतिक विपत्तिको साक्षी बन्ने पुस्ता हौँ । २०७२ सालको भुकम्पदेखि कोरोना महामारीसम्म हामीले भोग्यौँ । यी दुवै विपत्तिले मुलुकको अरु क्षेत्रभन्दा बढी अर्थ क्षेत्रलाई प्रभावित गरेको कुरामा त समग्र मुलुक नै जानकार छ।
भूकम्पले उत्पन्न गरेका आर्थिक पराकम्पनहरुले थलिएको मुलुकको अर्थतन्त्र सामान्य रुपमा तंग्रिन नपाउँदै हामीमाथि कोरोना जस्तो महाविपत्ति आइलाग्यो । भूकम्पबाट थलिएका हामीलाई कोभिडको कालो बादलले पनि नराम्ररी छायाँमा पार्यो । मलाई लाग्छ यी दुई त्रासदीले हामीलाई मुलुकको इतिहासमै सबैभन्दा बढी प्रभावित पारेको छ ।
तर यस्तो अवस्थामा पनि मुलुकको अर्थतन्त्रको इन्जिन रुपी निजी क्षेत्र लड्खडाएर भएर पनि उठ्नै पर्यो । हामी अहिले उठिसकेका छैनौँ, उठ्ने प्रयत्नमै छौँ । त्यसैले संसारका अरु देशको जस्तै हामीलाई पनि उठ्नका लागि सरकारको हात चाहिएको छ । तर जस्तोसुकै बिपत्तिमा पनि हामी जनताको साथमै थियौँ, छौँ र भोलि पनि रहने छौँ । नेपाल सरकारसँग मिलेर हामीले बिपत्तिका समयमा देश र जनतालाई साथ र सहयोग प्रदान गर्ने कामबाट पछि हटेका छैनौँ ।
मेरै नेतृत्वमा महासंघमा स्थापना भएको कोभिड रिलिफ कार्यक्रमबाट हामीले दोस्रो लहरका समयमा सहयोग गर्न सक्यौँ । हामीले आइसोलेसन केन्द्र देखि औषधिमूलोको व्यवस्थापनमा सहयोग गर्यौ । मेरो विचारमा चालु आर्थिक बर्षको शुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको थियो । अत्यधिक मागलाई नेपालको वित्तिय क्षेत्रले धेरै समय थेग्न सकेन । स्वभाविक रुपमा कर्जा प्रवाह बढ्यो ।
माग हुदा आयात बढनु पनि स्वभाविक थियो । रेमिट्यान्स आप्रवाहमा केही कमी आयो । यसले भुक्तानी सन्तुलनमा चाप परेको छ ।
विदेशी मुद्राको संचिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ । अबका दिनमा रकम सकिने मात्रै होइन । रकम आप्रवाह पनि त हुन्छ ।
त्यसैले सम्मानीय सभामुख ज्यू र यहाँ उपस्थित आदरणीय अतिथि ज्यू हरुमा म यसै मञ्चमार्फत् अर्थतन्त्रका हिसाबले के नेपाल श्रीलंका हुने त होइन भनी आएका अनेकन प्रश्नहरुको बारेमा पनि मेरा विचार राख्न चाहन्छु । मलाई लाग्छ, अहिले नै हामी त्यो अवस्थामा पुगेका छैनौँ । आम नागरिकले अहिले मुलुकमा यो प्रश्न गरिरहेकाले सरकार पनि यसको पूर्वतयारीको बाटोमा जुटेकै होला भन्ने मेरो विश्वास छ । हाम्रा सम्भावनाहरु छन् र हामीले सुधार गर्न सक्ने ठाउँ र उपायहरु पनि धेरै नै रहेकाले हामी त्यो बाटोमा जानुपर्दैन भन्ने अझै पनि मेरो आत्मविश्वास छ ।
त्यसैले अहिले नै मुलुक श्रीलंकाको बाटोमा गयो भनेर प्रचार मात्र गर्नु भन्दा पनि कालो बादलभित्र पनि चाँदीको घेरा हुने भएकाले त्यसको खोजी गर्न सबै लागौँ भन्ने मेरो आग्रह हो । तर मेरो यसको आसय हामी एकदमै सुरक्षित छौँ सतर्कता अपनाउनै पर्दैन भन्ने चाहिँ होइन । हरेक समस्याका पछाडि त्यसको समाधान रहेकै हुन्छ । त्यसैले समस्याको पहिचान गरेर ढिला नगरी त्यसको समाधानमा लाग्यौँ भने हामी श्रीलंका होइन नेपाल नै बन्छौँ, समृद्ध नेपाल बन्छौँ । अनि समृद्ध नेपाल निर्माणका लागि हामी निजी क्षेत्र त सदैव साथ साथमै छौँ ।
यसै अवसरमा म हालसालै सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा भएका केही उपलब्धिहरुको बारेमा पनि यहाँ स्मरण गर्न चाहन्छु ।
जस्तो कि विद्युतीय बजारका क्षेत्रमा यो भ्रमणका क्रममा वास्तवमा निकै उपलब्धि भएको छ भन्ने मेरो धारणा छ । यसअघि रोकिएको पिपिएको बाटो खोल्दै नेपालमा उत्पादिन विद्युत किन्नेसम्मको सहमति भारतले गरेकाले यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । यस क्षेत्रका उद्यमी तथा देशकै लागि यो सकारात्मक कुरा हो । साथै तीन वर्षदेखि थुनिएर, निसासिएर रहेको पर्यटन क्षेत्र पनि अब महामारी पछि उठ्न खोज्ने तरखरमा देखिएकाले यसबाट पनि हाम्रो अर्थतन्त्र बुम होला भन्ने मेरो विश्वास छ ।





























प्रतिक्रिया