हिउँ नपर्दा चिन्तामा मनाङका किसान

हिउँ नपर्दा चिन्तामा मनाङका किसान

केन्द्रबिन्दु
0
Shares

मनाङ ।

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष भने हिउँ नपरेपछि यहाँका डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्तै भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।

“सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यसपटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भने । विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् ।

हिमाली जिल्ला मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खास याममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि खेतीपाती पनि हुन छाडेको छ ।

पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको अनुभव सुनाउँछन् । उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।

पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको उनले बताए । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम जारी छ ।

जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म परेको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका किसान विनोद लामाले बताए  ।

“हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन”, उनले भने  ।

हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । रासस

Logo