गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने

केन्द्रबिन्दु
0
Shares

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरि हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एयरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले बताए । 

उनले भने, “जजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एयरलाइन्स पनि सम्पर्कमा रहेका छन्।” उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ। गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा बिहीबारदेखि आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ। 

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट नगरी भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ। ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ। अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

Skip This
Skip This
Logo